एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १७ : जनकपुुरधामको रामानन्दचौक स्थित प्रसिद्व श्री हनुमत दरबार बौवा हनुमान मन्दिरको नयाँ मन्दिर निर्माण कार्यको शिलान्यास गरिएको छ । बुधवार एक समारोहका बिच मधेश प्रदेश सरकारकी उद्योग पर्यटन मन्त्री सुनिता यादवले बन्न लागेको नयाँ मन्दिरको शिलान्यास गरेकी छिन् ।
यस्तो बन्दै छ नयाँ मन्दिर
सो मन्दिर जनकपुरधामको सुन्दर सदन अग्निकुण्ड मन्दिरको अधिनस्त रहेको छ । मन्दिरका महन्थ नवल किशोर शरण र मन्त्री यादवले सामुहिक रुपमा बन्न लागेको आकर्षक नयाँ मन्दिरको शिलान्यास गरेका छन् । मन्त्री यादवले यस मन्दिर र धेरै अघि यहाँ रहेको चर्चित बौवा हनुमानरुपी बाँदरको चर्चा आफुले धेरै सुनेको भन्दै आज आफु यहाँ आएर मन्दिर समुदघाटन गर्न पाउँदा खुसी लागेको बताइन ।

सो अवसरमा मन्दिर प्राङ्गणमा हनुमान आराधनाको पनि आयोजना गरिएको थियो । सो मन्दिर निर्माण गर्नका लागि पुरानो मन्दिर भत्काइएपछि त्यसको विरोध समेत भएको थियो । यस विषयमा महन्थ नवल किशोर शरणले मन्दिर भत्काइपछि समयका हिसावले उब्जिएको आशंका र चर्चाको खण्डन गर्दै आफु यहाँ झन विशाल र आकर्षक मन्दिर बनाउन लागेको र मधेश प्रदेशका मन्त्रीले शिलान्यास गरेकाले कुनै पनि शंका नगर्न आग्रह गरेका छन् ।