एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १३ : पछिल्लो समय मधेश प्रदेशको राजधानी जनकपुरधाममा क्रिकेटका गतिविधीहरु बाक्लिदै गएको छ । केहि दिन अगाडि मात्र जनकपुरधामको रजौल स्थित श्री रामजानकी अन्तर्राष्ट्रिय बहुद्देश्य रङ्गशालामा शहिद कप निधि टी–२० प्रतियोगिता सम्पन्न भएको केहि दिन नबित्दै पुन: जेठ १५ गतेबाट सोहि रंगशालामा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगीताको समुदघाटन नेपाली कांग्रेसका प्रभावशाली नेता पुर्व उपसभापती विमलेन्द्र निधीले सोमवार गर्ने कार्यक्रम छ ।
महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगितामा सात वटै प्रदेशका टिम सहभागी हुने नेपाल क्रिकेट संघ मधेश प्रदेश समितिले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । नेपाल क्रिकेट संघ मधेस प्रदेशको आयोजनामा हुन लागेको महेन्द्र नारायण निधि टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका खेलाडी सहभागी हुने संघका मधेश प्रदेश अध्यक्ष हिरा भगतले जानकारी दिनुभयो ।
प्रतियोगितामा मधेश, कोशी, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका टिम सहभागी हुने र प्रतियोगिता जेठ २६ गतेसम्म चल्ने जानकारी गराइएको छ । विजेता टिमलाई ३ लाख र उपविजेतालाई २ लाख नगद, शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको आयोजनाले खेलाडीहरूको क्षमता विकासमा थप मद्दत पुग्ने बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधाममा पछिल्लो समय क्रिकेटले पाइरहेको निरन्तरता सकारात्मक रहेको बताएका थिए । पत्रकार सम्मेलनमा शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मी प्रसाद भट्टराई, मधेश सरकारका निम्ति सचिव रञ्जित यादव, क्रिकेट संघ धनुषाका अध्यक्ष गुड्डु पाण्डे, उपाध्यक्ष आशिष झा, युवा अगुवा सरोज मिश्र, भावेश मिश्र सहितको उपस्थिती थियो ।