एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ११ : जसपा नेतृत्वको मधेस सरकारसंग केही दिन यता असन्तुष्ट रहँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय सहित मधेस सरकारमा सहभागीता जनाएको छ । लोसपाबाट रमेशप्रसाद कुर्मी मन्त्री पदको शपथ लिएसंगै लोसपा पनि मधेस सरकारमा सहभागी भएको हो ।
उनलाई मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले वन तथा वातावरण मन्त्री पदको शपथ ग्रहण गराएका हुन् । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित छन् । यता लोसपा मधेस प्रदेशको संसदीय दलका नेता अभिराम शर्माले तत्कालकालागि एक मन्त्रालयसहित आफूहरु मधेस सरकारमा सहभागी भएको जानकारी दिए । यसअघि गत मंगलबार सत्ता गठबन्धनका घटक दलहरु कांग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित मधेश सरकारमा सहभागी भएको थियो ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पनि सहभागी भएको छ । कुर्मीलाई मुख्यमन्त्री यादवले आफैंसँग राखेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । तमलोपाबाट राजनिति सुरु गरेका व्यवसायीक पृष्ठभ्ुमिका कुर्मी दुई पटक संविधानसभा सदस्य रहि सकेका छन् । अब वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको नाम भने लोसपाभित्र टुंगो लाग्न बाँकी रहेको छ । राज्यमन्त्रीको नाम पछि टुंगो लाग्ने बताइएको छ ।
सत्तारूढ गठबन्धनको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ । योसँगै मधेस प्रदेशमा अब पाँचौपटक मन्त्रिपरिषद विस्तार भएको छ । यसअघि मंगलबार मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराई चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका थिए ।

मधेस सरकारमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेका छन् । मुख्यमन्त्री यादवले गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि आफूसँगै राखेका छन् ।