एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३१ : जनकपुरधाम उद्योग वाणिज्य संघले उद्योग ग्राम स्थापनाका लागि जग्गा उपलब्ध गराइदिन गुठी संस्थानसँग अनुरोध गरेको छ । संघका अध्यक्ष जितेन्द्रकुमार महासेठसहित उद्योगी व्यवसायीहरूले आइतबार गुठी संस्थान जनकपुरधामका प्रमुख आनन्दप्रसाद कर्माचार्यलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
नेपाल सरकारले उद्योग ग्राम स्थापनालाई प्राथमिकतामा राखेको भन्दै उनीहरूले यसका लागि लिजमा सात विगहा जग्गा आवश्यक परेको पनि बताएका छन् । ज्ञापनपत्र बुझाउन संघका पूर्वअध्यक्ष निर्मल चौधरी, उपाध्यक्ष अम्भु साह, महासचिव मनोज साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष परमेश्वर साहलगायत गुठी संस्थान पुगेका थिए ।
संघले यसअघि फागुन ४ गते जनकपुरधाममा कृषि बजारका लागि पनि लिजमा जग्गा उपलब्ध गराइदिन माग गरेको थियो ।
