एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २८ : बुधवार मृत्यु भएको एक युवा गाँजा सेवनको विवादमा परि छतबाट खसेको स्पष्ट भएको छ । साथीहरु संग गाँजा खाने विषयमा विवाद हुँदा छतबाट खसेर युवकको मृत्यु भएको घटना सार्वजनिक भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय मो. गुलाम मंसुर भन्ने रवानी मंसुर रहेको प्रहरीले जनाएको छ । मंसुर मंगलबार राति १ बजे छतबाट लडेर घाइते भएका थिए ।
उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदा उपचारको क्रममा बुधबार बिहान ११ बजे मृृत्यु भएको थियो । प्रहरी अनुसन्धानको क्रममा घटना शंकास्पद देखेपछि मृतकका चारजना साथीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका चार मध्ये दुईजनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राईन, वडा नम्बर–८ बस्ने ३१ वर्षीय राजकुमार साह र नगराईन नगरपालिका–२ बस्ने २१ वर्षीय जितेन्द्र कुमार मण्डल रहेका छन् । धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले मृतक र पक्राउ परेका व्यक्तिहरु मंगलबार धनुषाको जटही नाकाबाट लागूऔषध सेवन गरेर आएको जानकारी दिए ।
मंगलबार राति १ बजे जनकपुरधाम–२३ लादोमा चुरोट किनेर सोही स्थानमा रहेको निर्माणाधीन पक्की घरको दोस्रो तल्लामा चढेर उनीहरुले चुरोटमा गाँजा मिलाएर सेवन गरेका थिए । अन्त्यमा चुरोट तान्ने विषयमा विवाद हुँदा मन्सुर छतबाट लडेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।