एसपी रिपोर्टर
जनकपुरधाम, २६ बैशाख :
निर्माण व्यवसायीहरुले प्रदेश सरकारसँग आफूहरुको पूरानो भुक्तानी यथाशिघ्र गर्न माग गरेका छन् ।
निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरीले आफूहरुको पूरानो बक्यौता रकम यथाशिघ्र भुक्तानी नगरिए बजेट अधिवेशनसमेत चल्न नदिने चेतावनी दिएका छन् ।
उनले अर्थमन्त्री संजयकुमार यादवले आफूहरुसँग भेटघाट गर्नसमेत नमानिरहेको गुनासो गरे । अर्थमन्त्री यादवले भेट गर्ने आश्वासन दिएर आफूहरुलाई कार्यालयमा बसाई भेटघाट नै नगरी त्यहाँबाट निस्कने गरेको उनको गुनासो छ ।
बाटोमा भेट्दा एकछिन हाम्रो कुरा सुनिदिनुस् भनेपछि अर्थमन्त्री यादवले तपाईंहरुलाई मेरो गाडी रोक्ने अधिकार कसले दियो भन्दै उल्टै अमानवीय व्यवहार प्रदर्शन गरेको उनको दुःखेसो छ ।
अध्यक्ष चौधरीले मधेस सरकारले आफूहरुको समस्या नै नबुझेको आरोप लगाएका छन् । उनले मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार बस्ने मन्त्रीपरिषदको बैठकबाट समस्या समाधान हुने आश्वासन दिएको बताउँदै त्यसपछि पनि समस्या समाधान नभए बजेट अधिवेशनसमेत चल्न नदिने चेतावनी दिएका छन् ।
यस सम्बन्धमा अर्थमन्त्री यादवले निर्माण व्यवसायीको भुक्तानीका लागि सरकारले छलफल गरेर निकास दिइसकेको र अब नियमावली संशोधन भई आवश्यक प्रक्रिया पुर्याएर दुई÷तिन दिनभित्र समस्या समाधान हुने आश्वासन दिएका छन् ।
उनले आगामी बजेटको मार्गदर्शन सिद्धान्तहरुमाथि पनि छलफल भएको जानकारी दिए । आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर सोही हिसाबले सरकारको नीति तथा कार्यक्रम निर्माणमा लाग्ने सरकारको तयारी रहेको उनले बताए ।
विगतमा देखिएका भुक्तानी समस्याहरु यस आर्थिक वर्षमा नदेखियोस् भन्ने हिसाबले सम्बन्धित मन्त्रालयले आफ्ना विभागिय कार्यालयहरुलाई पूर्वजानकारी दिइसकेको र भुक्तानीको उचित प्रवन्ध मिलाउन निर्देशन दिइएकोसमेत उनले बताए ।