एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १९ : एक्काइस वर्षको लामो प्रतिक्षापश्चात् नेपाल एसिया कप क्रिकेट प्रतियोगितामा पुग्न सफल भएको छ । नेपालले पहिलोपटक एसिसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको हो । आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान समेत रहेको समूहमा नेपाल पर्ने भएकाले नेपाल ति टिमहरुसंग मैदानमा प्रतिस्पर्धा गर्ने छ । यसअघि नेपालले सन् २००२ मा सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा पुग्दै एसिया कपको यात्रा तय गरेको थियो । तर, त्यसबेला भारत र पाकिस्तानबीच कार्गिल युद्ध चलिरहेकोले नेपालले खेल्न पाएको थिएन ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा आफ्नो स्थान दर्ज गराएको छ । सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । मंगलबार त्यहीँबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी रहेको एक विकेट गुमाएको थियो ।
युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको शुरुवात भने राम्रो रहेन । दोहोरो अंकमा रन छुन नपाउँदै दुवै ओपनर आउट भएका थिए । कुशल भुर्तेल दोस्रो ओभरमै ८ बल खेलेर एक रन जोड्दा एलबीडब्लु आउट भए । त्यसपछि १९ रनको स्कोरमा आशिफ शेख व्यक्तिगत ८ रनको स्कोरमा आउट भए । तेस्रो नम्बरमा मैदान प्रवेश गरेका गुल्शनसँग कप्तान रोहित पौडेलले इनिङ सम्हाल्ने प्रयास गरे । तर, ९ बल खेलेका रोहित पनि १ रनमै पवेलियन फर्किए । ८औं ओभर समाप्त हुँदा ३ विकेट गुमाएर नेपाल मात्र २२ रनको स्थितिमा थियो ।
तेस्रो नम्बरमा ब्याटिङका लागि पुगेका गुल्शनले भीम सार्कीसँग मिलेर नेपाललाई जित दिलाएका हुन् । नेपालको जितमा गुल्सनले अर्धशतक प्रहार गरे । उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे । दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो । गुल्सनले ८४ बलमा ३ चौका र ६ छक्का तथा भीमले ७२ बलमा ४ चौका हिर्काए ।
युएईबिरुद्ध जित निकालेको मंगलबारको म्याचको नायक बन्न सफल भएका छन् युवा खेलाडी गुलशन झा । म्याचमा अविजित ६७ रन बनाएर गुलशनले टिमलाई जितको मुखसम्म पुर्याएका छन् । शानदार इनिङ खेलेका गुलशन म्यान अफ द म्याच घोषित भएका छन् । गुलशनले यो जित समग्र देशवासीको रहेको प्रतिक्रिया दिएका छन् । पूरै नेपाल र नेपाली जनतालाई जितको मुस्कान दिलाउन पाउँदा आफूलाई धैरै खुशी लागेको गुलशनले बताए ।
युएईबिरुद्धको खेलमा नेपाली टोलीलाई जित दिलाउने युवा बल्लेबाज गुलशनको जन्म सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर–८ मा सामान्य परिवारमा भयो । सानै उमेरदेखि खेलमा रुचि राख्ने गुलशन पारिवारिक सहयोगका कारण आज नेपाली क्रिकेटको चम्किलो सितारा बनेका छन् । बुवा अखिलेश कुमार झा र आमा अञ्जु झाले आफूमा खेलप्रतिको लगनशीलता देखेर अभिप्रेरित गरेको गुलशनले बताए । गुलशनले भारतको राँचीमा ४ वर्षसम्म क्रिकेटको प्रशिक्षण लिए ।
कोरोना महामारीको संक्रमण बढ्दा उनी घर फर्किए । घर फर्किएर उनले त्यहाँ मेयरकपमा सहभागिता जनाए ।मेयरकपमा उनको उत्कृष्ट प्रदर्शनबाट प्रभावित भएर नेपाल क्रिकेट संघले उनलाई यू–१९ टिममा स्थान दियो । पछि उनलाई टिमको क्याप्टनसमेत बनाइयो । त्यसपछि उनलाई विश्वकप क्रिकेटको लिग–२ खेलिरहेको नेपाली सिनियर टिममा पनि स्थानमा दिइयो । शुरुवाती केही म्याचमा सम्झनलायक प्रदर्शन गर्न नसकेपनि युएईबिरुद्धको म्याचको जितको नायक बनेर आफूलाई साबित गर्न सफल भएका छन् गुलशन झा ।

एसिसी प्रिमियर लिगको बिजेता बनेसँगै भारत, पाकिस्तान जस्तो टेस्ट मान्यता प्राप्त क्रिकेट टिमसँग नेपालले प्रतिस्पर्धा गर्न पाउनेछ । त्यस्तै विश्वकप क्रिकेट छनोट चरणमा श्रीलंका, आयरलैण्ड, जिम्वावे लगायतको क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपमा नेपालसँगै पाकिस्तान र भारत समूह ‘ए’ मा तथा बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह ‘बी’ मा छन् ।
यसअघि पनि गत चैत २ गते लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले युएईलाई डिएल मेथडबाट ९ रनले पराजित गर्दै एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गरेको थियो । नेपालका लागि त्यो म्याच गर या मरको स्थितिमा थियो । युएईले सो म्याचमा नेपाल सामु ३११ रनको विशाल लक्ष्य दिएको थियो । अहिलेसम्म नेपालले २८५ भन्दा माथीको योगफल एकदिवसीय क्रिकेटमा बनाउन सकेको थिएन ।
डिएल मेथोडबाट युएईबिरुद्धको जित निकालेको त्यो म्याचको पनि नायक बन्न सफल भएका थिए गुलशन झा । म्याचको ४२औँ ओभरमा २० रन बनाएर गुलशनले टिमलाई जितको मुखसम्म पुर्याएका थिए । त्यस म्याचमा गुलशन ३२औँ ओभरमा क्रिजमा आएका थिए । ४१ औँ ओभरसम्म गुलशन ३६ बलमा २५ रन बनाएर खेलिरहेका थिए । ४४औँ ओभरमा खेलको नतिजा आउँदा गुलशन ४८ बलमा ५० रन बनाएर अविजित रहे ।
यूएईलाई हराउदै इतिहाँस रच्दै
यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको छ । मंगलबारको खेलमा यूईएले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएरपुरा गरेको हो । नेपालका लागि गुल्शन झाले ८४ बलमा अविजित ६७ रन बनाए भने भीम सार्की ७२ बलमा ३६ रन बनाएर नटआउट रहे ।

सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । मंगलबार त्यहीँबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी रहेको एक विकेट गुमाएको थियो । च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ । आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ।