एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १७ : जनकपुरधाममा मधेश बालिका सम्मेलनको आयोजना गरिएको छ । भएको छ । आइतबार महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयको आयोजन तथा लाइफ नेपालसहित विभिन्न संघसंस्थाको सहयोग र समन्वयमा मधेश बालिका सम्मेलन गरिएको हो ।
सम्मेलनमा बालिकाको शिक्षामा पहुँच, सुरक्षाको अवस्थाका साथै बालविवाहमुक्त समाज निर्माणलगायत विषयमा छलफल गरिएको छ । सम्मेलनमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बालिकालाई ध्यानमा राखेर प्रदेश सरकारले थुप्रै अभियान र कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।

आगामी दिनमा पनि बेटी पढाउ बेटी बचाउ, छोरी शिक्षा बिमालगायत बालिका सशक्तीकरणका योजनाहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । उनले भने ‘म आफनो बाल्यकाल सम्झिन्छु, केहि मात्र छात्रा साथीहरु हेर्थे, त्यसमा पनि धेरैको विवाह पढदै गर्दा भइहाल्थ्यो ।’ २०३० साल सम्ममा वाल विवाह अन्त्यको लक्ष्य दिइएको बताउदै उनले बैशाख १७ गते लाई मधेशमा वाल विवाह विरुद्वको दिवसका रुपमा मनाउन मन्त्री सरकारले निर्णय गर्ने समेत बताए ।
कार्यक्रममा मधेशका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महेशकुमार यादवले मधेशका छोरीलाई उच्च शिक्षासम्म अध्ययनको वातावरण बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले मधेशलाई साक्षर प्रदेश बनाउने प्रण लिएर आफूले विभिन्न योजनाहरू ल्याएर काम गरिरहेको पनि बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले बालिका लक्षित हाल सञ्चालनमा रहेका कार्यक्रम, यसका उपलब्धि, चुनौती र आगामी योजनाहरूका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा सहभागी हुन मधेशका विभिन्न जिल्लाबाट बालिका तथा शिक्षक र शिक्षिकाहरू आएका थिए । त्यस्तै, विभिन्न पालिकाबाट प्रमुख तथा उपप्रमुखहरू पनि सहभागी भएका थिए ।