एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १७ : नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मिटर ब्याज सामन्तवादी शोसनको नमुना रहेकाले जडै देखि उखेलेर फाल्ने बताएका छन् । जनकपुरधाममा मिटर ब्याजको समस्या समाधानका लागि नेपाल सरकारले स्थापना गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रिय कार्यालय जनकपुरधाममा समुदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले जनकपुरधाममा सुरु भएको आयोगको कार्यालयलाई समान्य रुपमा नलिन समेत सबैलाई आग्रह गर्दै मिटर ब्याज सम्बन्धी थप अनुसन्धान र छानविन हुने बताएका छन् ।
जनयुद्व सहितको विभिन्न संर्घषबाट सामन्तवादीको अन्त्य गरिएपनि मिटरब्याजको रुपमा विद्यमान रहेको सामन्तवादको अवशेष फाल्न आवश्यक रहेको उनको तर्क छ । पिडित र बुद्विजिवीहरुबाट आएको सुझाव अनुसार विद्यमान ऐनको आधारमा मिटरब्याजलाई समान्य ठगीको सन्दर्भलाई अगाडि सारेर न्याय दिन सकिने भएपनि ठोस समाधान नहुने भएकाले अनुचित लेनदेन र मिटरब्याजको समस्या समाधानका लागि ठोस कानुन बनाउन कानुन संसोधनका लागि मन्त्री परिषद अगाडि बढिसकेको उनले बताए ।
उनले छिट्टै ऐन संसोधनका लागि संसदमा जाने र ढिलाई भए विकल्पका बारेमा पनि छलफल भइरहेको उनले बताए । गृहमन्त्री श्रेष्ठले घरजग्गा पास गरि पैसा लिएदिएको सन्दर्भमा त्यस्ता सम्पतीनै खारेज गर्ने, अनुचित ब्याज लिएको पाइएमा पैसा नै फिर्ता गर्नुपर्ने सम्मको कानुन ल्याउन लागेको समेत बताए ।
श्रेष्ठले हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुो संयोजकत्वमा एक समिति बनाएर आयोग संगको समन्वयमा समस्या समाधानका लागि पहल भइरहेको बताए । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, शिक्षा मन्त्री महेश यादव, आयोगका अध्यक्ष गौरी बहादुर कार्की, सदस्यहरु गणेशबाबु अर्याल र उत्तमराज सुवेदी सहितको उपस्थिती थियो । गृहमन्त्री श्रेष्ठ आजै जनकपुरधाममा आयोजना हुने प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुनेछ ।