एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १५ : मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले नेपाल–भारत भौगोलिक र राजनीति रूपमा अलग भए पनि सामाजिक र सांस्कृतिक रूपमा समान रहेको बताउनुभएको छ । जनकपुरधाममा शुक्रबार भारतीय दूतावासको स्वामी विवेकान्द सांस्कृतिक केन्द्र, महावाणिज्य दूतावास वीरगञ्ज, श्री जानकी मन्दिर र संवाद फाउण्डेशनको संयुक्त आयोजनामा भएको ‘जनकपुरधाम सांस्कृतिक महोत्वस’ मा प्रदेश प्रमुख मिश्रले यस्तो बताउनुभएको हो ।
उहाँले दुवै देशका नागरिकको धर्म, कला, संस्कृति, परम्परा एक समान रहेको पनि बताउनुभयो । दुवै देशबीच रहेको पारिवारिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले सहयोग पु¥याउन पनि उहाँले बताउनुभयो । प्रदेश प्रमुख मिश्रले सनातन कालदेखि दुवै देशबीच चल्दै आएको भाइचारा बढाउन पनि भारतीय दूतावास र महावाणिज्य दूतावासले विविध कार्यक्रममार्फत् भूमिका निर्वाह गर्दै आएको पनि उहाँको भनाइ छ । महोत्सवको पहिलोसत्रमा मिथिला फुड फेस्टिबलको आयोजन गरिएको थियो ।
महोत्सवमा विवेकान्द सांस्कृतिक केन्द्रकी निर्देशक आसावरी वापटले मिथिलाको भोजन सम्बृद्ध रहेको भन्दै हरेक प्रदेशको आ–आफ्नो खाद्य संस्कृति रहेको बताउनुभयोे । उहाँले खाद्य पनि एक संस्कृति रहेकाले यसलाई सम्बद्र्धन गर्नुपर्ने बताउनुभयो । त्यस्तै, महावाणिज्यदूत नितीश कुमारले मिथिला खानाका थुप्रै परिकार रहेको भन्दै सबैको आ–आफ्नै महत्व रहेको बताउनुभयो ।
महोत्सवका क्रममा मिथिलाको ८४ व्यञ्जनहरूको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा झिल्ली, फोफी, तरुवा, विभिन्न किसिमका साग, तरकारी, बरी, कचरी, बिरिया, ठकुवा, अचारलगायत राखिएको थियो । स्वस्थ्य शरीरका लागि मिथिला खानाका सबै व्यञ्जनको महत्वबारे पनि महोत्सवमा जानकारी दिइएको थियो । साथै, मिथिला चित्रकलाको प्रदर्शनी र मिथिलामा बजाइने बाजाहरूबारे पनि जानकारी दिइएको थियो ।
महोत्वसको दोश्रोसत्रमा सांस्कृतिक कार्यक्रमको आयोजन गरिएको थियो । महोत्सवमा मिथिला नाट्यकला परिषद्लगायतका कलाकारहरूले प्रस्तुति दिएका थिए । महोत्सवमा संविधानसभा सदस्य डा. विजयकुमार सिंह, पूर्वमेयर बजरंगप्रसाद साह, पुर्वमेयर तथा राष्ट्रियसभा सदस्य वृशेषचन्द्र लाल, जनकपुरधामका उपमेयर किशोरी साह, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी, परमेश्वर कापडी, टुडेज युथ एसियाका अध्यक्ष सन्तोष साह लगायत सहभागी भएका थिए ।