एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १३ : मधेशको एक मात्र निर्वाचन क्षेत्र बारा २ मा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् । यादव जसपा नेपालका राष्ट्रिय अध्यक्ष हुन । यादव पाँच हजार ८१ मतान्तरले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गर्दै चुनाव जितेका हुन ।
यादवले २८ हजार ४ सय १५ मत ल्याए भने उनका निकट्तम प्रतिद्वन्द्वी जनमतका कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याए । साथै एमालेका उम्मेदवार पुरुषोतम पौडेलले १० हजार २ सय १६ मत, रास्वपाका रमेश खरेलले २ हजार ८ सय २९ मत र आजपाका उम्मेदवार अरुण ज्ञवाली २ हजार ७ सय ३८ मत पाएका छन् ।
क्षेत्रको कुल ८२ मतदान स्थल र १ सय ३७ मतदान केन्द्र गरि जम्मा ६९ हजार २२ मत खसेको थियो । यादव पाँच दलिय गठबन्धनका साँझा उम्मेदवार थिए भने अन्य पार्टीहरु जनमत, एमाले, रास्वपा र आजपा एक्ला एक्लै चुनाव लडेका थिए ।
जितेपछि मतगणना स्थलमा पत्रकारहरुसंगको कुराकानीमा यादवले अव छिट्टै संघिय र प्रदेश सरकारहरुले पुर्णता पाउने बताएका छन् । उनी जसपा अव जुरमुराएको र बल्ल जागेको पनि टिप्पनी गरे ।