एसपी रिपोर्टर
काठमाण्डौं, वैशाख १६ : आफ्ना सांसद अपहरण भएको भन्दै जनता समाजवादी पार्टी नेपाल पछिल्लो केही दिनयता जाहेरी दर्ताको प्रक्रियामा छ । पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, र बहालवाला सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध पार्टीले जाहेरी दर्ताको प्रक्रिया अघि बढाएको थियो । सोहि सिलसिलामा आइतबार महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दर्ताका लागि पार्टी नेताहरु पुगे पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि झनै विवाद बढेको छ ।
सो दिन प्रहरीले घटनाको क्षेत्राधिकार महोत्तरी भएको भन्दै जाहेरकर्तालाई महोतरी जना भन्दै फर्काएको थियो । सोमबार पार्टी नेता बाबुराम भट्टराई लगायतकाले महान्यायाधिवक्ता अग्नि खरेलसँग पनि परामर्शको प्रयास गरे तर हुन सकेन । मंगलबार पार्टीका नेताहरु जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौंमा जोहरीसहितको निवेदन लिएर पुगेका छन् । नेताहरु बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई, शरतसिंह भण्डारी सरकारी वकिल कार्यालय पुगेका हुन ।
द्विक्षीय छलफल जारी छ । सरकारी वकिल कार्यालयले भने आधारभूत रुपमा जाहेरी बुझ्ने निकाय प्रहरी भएकाले प्रहरीले दर्ता इन्कार गरेको लिखित प्रमाण नभएसम्म कारबाही अघि बढ्न नसक्ने जवाफ दिएको छ । फौजदारी कार्यविधि सहिताको परिच्छेद २ मा प्रहरीले जाहेरी लिन नमाने सोको जानकारीसहित एक तह माथिल्लो प्रहरीको निकाय वा सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गर्न सकिने व्यवस्था छ ।