एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ८ :
मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेकी छन् ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री यादवले २०७९ माघ २४ देखि २०८० बैशाख ७ गतेसम्म (७३ दिन) मा आफूले गरेका महत्वपूर्ण कार्यहरु सार्वजनिक गरेकी हुन् ।
मन्त्री यादवले २१ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गर्दै गर्न बाँकी रहेका कामहरु पनि क्रमशः पूरा गर्ने प्रतिबद्धतासमेत जनाइन् ।
उनले मन्त्रालयको कार्यप्रगतिअन्तर्गत प्रदेशका ८ वटै जिल्लाका वन क्षेत्रभित्र विगत वर्षदेखि ढलेर रहेका रुखहरु (काठ÷दाउरा) संकलन गरी सुरक्षित स्थानमा घाटगद्दि गरी काठ दाउरा आपूर्ति व्यवस्थापनको नीतिगत निर्णय गरी कार्य सुरु गराएको दाबी गरिन् ।
साथै प्रदेशमा औद्योगिकीकरणको प्रक्रियालाई गतिशील र सुदृढ गर्दै परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गर्नुका साथै व्यवसायिक जनशक्ति उत्पादन तथा रोजगारीका अवसरहरु सिर्जना गरी देशको आर्थिक विकासमा योगदान पुर्याउन नयाँ स्थापना भएको उद्योग विभाग, वीरगञ्जको कार्यविधि–२०७९ स्वीकृत गरी कार्य सञ्चालन सुचारु गराएको उनको जिकिर छ ।
मन्त्री यादवले प्रदेश वन ऐन, २०७७ को दफा ९४ अनुसार प्रदेश सरकारले सर्वसाधारण जनताको हितलाई ध्यानमा राखी सहज सरल रुपमा काठ दाउरा आपूर्ति÷बिक्री वितरण गर्न प्रदेशका ८ वटै जिल्लामा जिल्ला वन पैदावार आपूर्ति समितिका २४ जना पदाधिकारी मनोनयन गरी कार्य सञ्चालन गराएको जानकारी दिँदै वातावरण संरक्षण ऐन २०७६ तथा वातावरण संरक्षण नियमावली २०७७ अनुसार उद्योग क्षेत्रसँग सम्वन्धित संक्षिप्त वातावरणीय अध्ययन र प्रारम्भिक वातावरणीय परिक्षणको कार्यसूची तथा संक्षिप्त वातावरणीय अध्ययन र प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनको स्वीकृत गर्नेसम्मको अधिकार उद्योग विभाग, वीरगञ्जका महानिर्देशकलाई प्रत्यायोजन गरी कार्य सञ्चालन गराएको दाबी गरिन् ।
उनले आफूले गत आर्थिक वर्ष २०७९÷०८० मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालित कार्यक्रमको मन्त्रालयबाट अनुगमनको कार्यलाई तिव्रता दिएको बताउँदै पर्यटन प्रवर्द्धन गर्ने क्रममा ठूला योजना अन्तर्गतका मिथिला माध्यमिकी परिक्रमाको मटिहानी पडावस्थलमा धर्मशाला निर्माण कार्यको शिलान्यास र पर्यटकीय गन्तव्यस्थलको रुपमा रहेका कारिकबाबा (परौलस्थान) मा पोखरी सौन्दर्यीकरण तथा स्तरोन्नति, पोखरीको डिलमा चारैतिर रेलिङ्ग, लाईट, गोलघर निमार्ण कार्यको शिलान्यास गरी कार्य शुरुवात गराएको दाबीसमेत गरिन् ।
मन्त्रालय तथा मातहतका २४ वटै कार्यालयहरुको आ.व. २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम ३ वटै बिषयगत क्षेत्र उद्योग, पर्यटन तथा वनको छुट्टाछुट्टै कार्यालय प्रमुखहरुको सहभागितामा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रमको माध्यमबाट जानकारी लिई समयमा गुणस्तरीय काम सम्पन्न गरी शतप्रतिशत प्रगति हासिल गर्ने सुझाव तथा निर्देशन दिनुका साथै प्रदेश सरकार गठन भएपछिको पहिलो मन्त्रीपरिषद्को निर्णय बमोजिम शितलहरहरुबाट प्रभावित प्रदेशवासीहरुमा सरकारको खर्चबाट स्थानीय तहहरुलाई २१२ चट्टा दाउरा निःशुल्क वितरण गराएको मन्त्री यादवले बताइन् ।
पर्यटन विधेयक–२०७९ तयार गरी राय सुझाव÷छलफलको क्रममा रहेको र प्रदेश वन नियमावली–२०७९ उपर पुनः समिक्षा गरी त्यो पनि स्वीकृतीको अन्तिम चरणमा रहेको उनले जानकारी दिइन् ।
उनले मधेस भवन परिसरभित्र प्रत्येक बुधवार विहान ७ देखि ८ बजेसम्म सरकारी÷गैरसरकारी संघ÷संस्थाहरुको सहभागितामा अभियानको रुपमा सरसफाइ गरी स्वच्छ वातावरण कायम गर्न कार्य शुभारम्भ गराएको बताउँदै नेपाल सरकारबाट आवश्यक निर्णय र निर्देशन नभएसम्मका लागि वन क्षेत्र कायम रहेको जग्गा भूमि आयोगलाई जग्गा उपलब्ध गराउन नसकिने नीतिगत निर्णयसमेत आफूले नै गरेको दाबी गरिन् ।