एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख ७ : एमाले अध्यक्ष केपी ओलीले सप्तरीमा ४ मंसिरमा पराजित भएका उपेन्द्र यादव उपनिर्वाचनमा बारा २ बाट पनि पराजित हुने बताएका छन् । डुल्दै आएका यादवलाई बाराबासीले हराएरै छोड्ने दाबीसमेत ओलीले गरे । १० वैशाखको उपनिर्वाचनमा बारा २ बाट उठेका आफ्नै उम्मेदवार पुरुषोत्तम पौडेलको पक्षमा माहोल बनाउन पुगेका ओलीले यस्तो बताएका हुन् ।
‘सप्तरीमा पराजित भएका नेता फेरि यता बारामा आएका छन् । यी डुलुवा नेतालाई बाराबासीले पनि हराउने छन्’ ओलीले भने, ‘यादवलाई मात्रै होइन गठबन्धनका नेता जहाँ भेटिन्छन् त्यही पराजित गर्नुपर्छ । यिनीहरूलाई अन्त्य गर्न जहाँ पायो त्यही पछार्नुपर्छ, हराउनुपर्छ ।’ बारामा बिहीबार सत्ता गठबन्धनले पनि अन्तिम चुनावी सभा गरेका छन् ।
जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपालसहितले सम्बोधन गरेका थिए । जसपाबाट जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ । निर्वाचनमा यादवले जनमतका शिवचन्द्र कुशावाहा, रास्वपाका रमेश खरेल र एमालेका पुरुषोत्तम पौडेलसँग मुख्य प्रतिस्पर्धा गर्दैछन् ।
ओलीले वर्तमान सरकार केही महिनाभित्रै अब पनि रहने हो भने वृद्धभत्ता रोक्ने निश्चत रहेको बताएका छन् । बिहीबार बाराको पचरौतामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विदेशीले समेत नपत्याएको यो सरकारसँग पैसा नै नभएकाले सरकारले दिँदै आएको वृद्धभत्ता रोकिने र प्रहरीलाई कपडा फेर्न समेत नपाउने बताए ।
‘यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ, यसले रोक्छ । यही सरकार रहने हो भने प्रहरीले कपडा पनि फेर्न पनि पाउँदैन’,पूर्व प्रधानमन्त्री ओलीले भने, ‘यही कपडाले कति समय चलाउनुपर्ने हो थाहा छैन ।’ अध्यक्ष ओलीले आर्मीलाई बङ्करबाट ब्यारेकमा ल्याउने प्रयास थालेको तर त्यो अभियान समेत रोकिएको बताए ।
उनले पैसा जति भन्यो त्यति दिने कामधेनु गाई ल्याएको छ र ? भन्दै सरकारलाई राक्षसको संज्ञा दिए । ‘राक्षस पसेजस्तो भएको छ, ध्वस्त भएको छ देश’, ओलीको भनाइ छ । उनले मुलुकमा साँच्चै पैसा नभएको भन्दै सरकारले पैसा आउने कामै नगरेको बताए । ‘१५ प्रतिशत ब्याज तिरेर कसरी मान्छेले उद्योग चलाउँछ ? किनभने यो सरकारको ध्यान देश र जनता होइन आफन्त पोस्ने हो’, ओलीले यही देशको ढुकुटीबाट बाटो बनाउन पुग्ने भए पनि त्यो कामै नगरेको बताए ।
उनले गठबन्धन सरकार नपछारेसम्म देशको विकास नहुने दाबी समेत गरे । उनले गढीमाईमा गठबन्धनका नेताहरू आएर एमालेलाई गाली गर्न मात्रै भएको पनि बताए । उनले बारा २ एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललाई विजयी गराउन र विकासको अभियानमा साथ दिन आग्रह गरे ।