एसपी रिपोर्टर
बारा, वैशाख ७ : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव देशकै योग्य नेता भएकोले जनताको सेवा गर्न जिताउन आग्रह गरे । ‘उपेन्द्र यादव देश र मधेशको नेता हो, मधेश र मधेशी जनताको अधिकारका लागि पटक पटक वहाँले मसँग झगडा गर्नु भएको छ’ उनले भने उहाँलाई भारी मतान्तरले जिताउन आग्रह गर्दछु ।’
बाराको गढीमाइमा विहीबार आयोजित पाँच दलीय गठबन्धनको वृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले योग्य नेता संसदमा हुन आवश्यक रहेको बताए । सभामा नेकपा एसका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देश बनाउन, संविधानको रक्षा र जनताको समस्या समाधान गर्न पाँचदलीय गठबन्धन थप मजबुत हुनुपर्ने बताए ।
उपेन्द्र यादव देश र मधेशको नेता भएकोले सबैले अत्यधिक मत दिएर जिताउनुपर्नेमा जोड दिँदै भने ‘सबै समुदायको समस्या समाधान गर्न पाँच दलीय गठबन्धन प्रतिवद्ध छ ।’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले पाँच दलीय गठबन्धनले संविधान संशोधन, नागरिकता सम्बोधन, सामाजिक न्याय, विकास र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।
संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा र बारा २ को समग्र विकासका लागि उपेन्द्र यादवलाई जिताउन उनले जनतासँग आग्रह गरे । नेपाली कांग्रेस बाराका जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा आयोजित सभामा कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आयोजित वृहत चुनावी सभामा नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल, लोकतान्त्रिक समाजवादी पार्टीका बारा २ का संयोजक मोतीलाल कुशवाहा लगायतले सम्बोधन गरे ।