एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ६ : अढाई वर्षअघि नेपाल रेल्वे कम्पनीले निकालेको कर्मचारी भर्ना विज्ञापनमा आवेदन दिएकाहरूले दरखास्त दस्तुर फिर्ता पाउने भएका छन् । नेपाल रेल्वे कम्पनीले बुधबार सूचना प्रकाशित गरी ३५ दिनभित्र दस्तुर फिर्ता लिइसक्न अनुरोध गरेको हो ।
२०७७ साल भदौँ २९ गते रेल्वे कम्पनीले एक सय २९ करार कर्मचारी भर्नाका लागि विज्ञापन गरेको थियो । १ सय २९ जना माग गरिएकोमा ३२ हजार ६ सय ८६ जनाले आवेदन दिएका थिए । तर, त्यही वर्ष असोज २० गते लोकसेवा आयोगले प्रक्रिया स्थगित गर्न सरकारलाई सिफारिस गरेको थियो ।
त्यसलगतै असोज २७ गते मन्त्रिपरिषद्ले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । जागिरको आशमा आवेदन दिएकाहरू जागिर पनि पाएनन् अनि अढाई वर्षदेखि दरखास्त दस्तुर पनि फिर्ता पाउन सकेका थिएनन् । यसैबीच, रेल्वे सञ्चालक समितिको गत चैत्र ६ गते बसेको बैठकले दरखास्त दस्तुरवापतको रकम फिर्ता दिने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम ३५ दिनभित्र रकम लिइसक्न रेल्वे कम्पनीले अनुरोध गरेको छ । यसका लागि बैंकको सक्कल भौचर र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित रेल्वेको जनकपुधामस्थित केन्द्रीय कार्यालयमा सम्पर्क गर्न प्रबन्ध निर्देशक निरञ्जनकुमार झाले अनुरोध गर्नुभएको छ । अढाई वर्षअघि जयनगर–जनकपुर–कुर्था रेल सेवा सञ्चालन गर्न कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखालगायतका २९ वटा पदमा १२९ जना करार कर्मचारी माग गरेको थियो ।
अधिकृत स्तर पदका लागि एक हजार, सुब्बा स्तरको चार सय र श्रेणीविहीन स्तरको विज्ञापनका लागि तीन सय रुपियाँ आवेदन दस्तुर तोकिएको थियो । दस्तुरबापत करिब एक करोड ३६ लाख रुपैयाँभन्दा बढी रकम नेपाल रेल्वे कम्पनीको खातामा जम्मा भएको थियो ।