एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ६ : मधेश प्रदेशका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महेशप्रसाद यादवले विज्ञान र प्रविधिसँग जोडर शैक्षिक गतिविधिलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । धनुषामा बुधबार भएको डिजिटल मधेश संवाद कार्यक्रममा मन्त्री यादवले मधेशको शिक्षाको गुणस्तर बढाउँदै समय अनुकुल यसलाई विज्ञान–प्रविधिसँग जोडेर शैक्षिक गतिविधि गर्नुपर्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय अभिभावकहरूले आफ्नो भूमिका बिर्सिदै गएको पनि बताउनुभयो । मन्त्री यादवले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले आफू मन्त्री बने लगतै मधेश प्रदेशको शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न योजना तथा कार्यक्रम ल्याएर अगाडि बढेको पनि जानकारी दिनुभयो ।
मन्त्री यादवले मधेश प्रदेश क्षेत्र कुनै बेला शिक्षाको हब भएको भन्दै दक्ष जनशक्तिलगायतको अभावले पनि पछिल्लो समय गुणस्तरीय शैक्षिक गतिविधि सञ्चालन हुन नसकेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा अर्थविद् डाक्टर सुरेन्द्र लाभले डिजिटल प्रविधिको प्रयोग लक्ष्य प्राप्तिका लागि हुनुपर्ने बताउनुभयो । उहाँले गन्तव्य प्राप्ति बिनाको डिजिटल प्रविधिको प्रयोग निरर्थक हुने उहाँको भनाइ छ ।
त्यसक्रममा आईसीटी मिडियाका अध्यक्ष राजन लम्सालले डिजिटल नेपाल बनाउने दिशामा सातवटै प्रदेशका सरोकारबालाहरू प्रदेश तथा स्थानीय सरकारले गर्दै आएका कामको अध्ययन गर्दै आएको बताउनुभयो । आईसीटीसहित विभिन्न संघसंस्थाको सहकार्यमा सातवटै प्रदेशमा डिजिटल संवाद कार्यक्रम गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । कार्यक्रममा पूर्वमन्त्री गणेश शाहलगायत सहभागी भएका थिए ।