एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ :
चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा साढे पाँच अर्ब रूपैयाँले न्यून भएको छ । आन्तरिक राजस्व विभागका अनुसार चालू आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व सङ्कलन तीन खर्ब ३७ अर्ब १० करोड २० लाख बराबर छ ।
गत आवको सोही अवधिमा सरकारले तीन खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख बराबर कर उठाएको थियो । अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा समेत देखिएको हो । गत आवको सुरुआती नौ महिनाको आन्तरिक राजस्व सङ्कलनको तुलनामा चालु आवको सोही अवधिमा पाँच अर्ब ५५ करोड ६६ लाख रूपैयाँ कम कर उठेको छ । जुन गत वर्षको तुलनामा दुई प्रतिशत बिन्दुले न्यून हो ।
चालू आवको चैत मसान्तसम्ममा सरकारले एक खर्ब ५० अर्ब २० करोड रूपैयाँ बराबर आयकर उठाएको छ । गत आवको यही अवधिमा एक खर्ब ६५ अर्ब ४५ करोड रूपैयाँ आयकर संकलन भएको थियो ।
नौ महिनामा मूल्य अभिवृद्धि कर (भ्याट सङ्कलन) ७८ अर्ब ८९ करोड ६५ करोड रूपैयाँ बराबर छ । अन्तःशुल्कतर्फ ७४ अर्ब २८ करोड ९२ लाख रूपैयाँ बराबर असुली भएको छ । यही अवधिमा घर बहाल कर एक अर्ब ९७ करोड, स्वास्थ्य सेवा करतर्फ पाँच अर्ब २५ करोड र शिक्षा करतर्फ एक अर्ब २६ करोड रूपैयाँ उठेको विभागको तथ्याङ्कबाट देखिन्छ ।
सभार- लोकान्तर