एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २ : हरेक नयाँ वर्षको बैशाख २ गते मिथिलाञ्चल र तराई मधेशमा आज जुडशितल पर्व मनाईदै छ । यस पर्वमा अभिभावक लगायत परिवारका अग्रज सदस्यले आफु भन्दा सानाहरुको शिरमा जल छर्केर आशीर्वाद दिने र माटोको टिका लगाएर वर्ष भरि शितलताको आर्शिवाद दिने परम्परा छ । यसरी सानाको शिरमा जल थपथपाउनुलाई जुराउनु पनि भनिन्छ । शिरमा जल थपथपाएर वर्ष भरि जुराउनु अर्थात शितलता प्रदान होस भने आर्शिवाद प्रदान गरिन्छ ।
साथै समाजका अग्रजहरुले छरछिमेकका सानाहरुलाई पनि घर आँगनमा पुगेर आर्शिवाद दिने गर्दछ । जुडशितल पर्वका दिन मधेशको हरेक घरमा सोहिजनको तरकारी, तरुवा, बघरुवा, करहीबरही, भुजुवा, आँपको टिकुलाको चटनी वा तरुवा, तरकारी, पापड, सतु लगायत विभिन्न व्यन्जन तयारी गरि भान्सा घरको चुल्हालाई भगवान विष्णुको रुपमा पुजाआजा गर्ने गर्छन ।
आजको दुवै छाकका लागि पाकेका सम्पुर्ण ब्यञ्जनले सर्व प्रथम चुल्होलाई चढाएर पुजापाठ सकेपछि मात्र भोजन गर्ने चलन छ । विहान पाकेको भोजन आज साँझ पनि खाएर भान्साको चुल्हा सहितका सरसमानलाई एक छाक आजको दिन आराम गर्न दिइन्छ ।
यस दिन व्यक्ती मात्र होइन भान्छा समेतलाई जुराउने परम्परा रहेको छ । आजका दिन शिरमा जल राखी आशीर्वाद दिंदा वर्षभरी शितलता, शान्ति र समृद्धि आउने जनबिश्वास रहेको पाईन्छ । आजको दिन मलिलो माटो सहितको हिलोमा समेत खेल्दा शितलता पाउने भएकाले खेल्ने गरिन्छ । यो परम्परा हराउदै गएपनि यस वर्ष भने जनकपुरधाममा विभिन्न संस्था र युवाहरुले माटो खेलेका छन् ।
जनकपुरधाममा गंगाआरती गर्ने शेभ द हिस्टोरिकल जनकपुरले गंगासागर किनारमा, लायन्स क्लवले जानकीचौक स्थित अरगज्जासर तलाउ किनारामा स्थानिय युवाहरुसंग र श्री राम युवा कमिटिका युवाहरुले कमिटिको प्राङ्गणमा मलिलो माटो खेलेर गुडशितल मनाएका छन् । प्रदेश सांसद तथा गंगाआरतीको प्रारम्भकर्ता पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष राम अशिष यादवले जुड शितल पर्वले मानवलाई प्रकृतीका मुख्य अंश माटो र जलसंग अपनत्व बढाउनुका साथै जिवनका लागि त्यसको महत्व दर्शाउने बताउछन् । उनले माटो र जल बिनाको जिवन कुनै पनि प्राणीले सोच्न नसक्ने बताए ।
जानकीचौकका युवा अगुवा शुसिल कर्णले जगत जननी माता जानकी स्वयम माटोबाटै उत्पती भएकोले माटोको महत्व रहेको र जुड शितलले मानवलाई त्यही माटोको परिचय गराउने काम गरेको बताए । गंगासागरमा समाजिक अगुवा अमरचन्द्र अनिलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका अगुवाहरु सत्तु खाएर सतुवाइन र शुभकामना आदान प्रदान गरि नयाँ वर्ष समेत मनाए ।
आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने चौपाया (गाईवस्तु) नुहाउने समेत परम्परा रहेको छ । अत्याधिक गर्मी र सूर्यको तापबाट आकुल व्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान होस भन्ने नै पर्वको मूल उद्देश्य रहेको छ ।