एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १ : नयाँ वर्षको पहिलो दिन शुक्रवार निर्माणाधिन श्री रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशालामा बारालाई पाँच विकेटले पराजित गर्दै जनकपुरधाम मेयरकप टि २० क्रिकेट प्रतियोगिता २०७९ को उपाधी धनुषाको जनकपुरधाम टिमले जितेको छ । एकदमै रोमाञ्चक प्रतिस्पर्धामा १२ बल वाँकी छदै धनुषा टिमले बारालाई हराएर उपाधि जित्न सफल भएको हो ।
विहान साढे ११ बजे टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको बारा टिम निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय १४ रनको योगफल तयार गरेको थियो । बाराका लागि शाहिल पटेल १८, तिर्थराज दास १६, मेघराज महरा १३ रन बनाएका थिए भन्ने अन्य ब्याट्सम्यानहरु खासै चल्ने सकेको थिएन । धनुषाको राम्रो बलिङ्गमा हरिशंकर साह ३, कृष्ण कार्की ३ विकेट लिए भने अन्य बलरहरु एक एक विकेट लिएका थिए ।
१ सय १५ रनको लक्ष्य सहित उपाधि जित्ने सोचका साथ मैदान उत्रेका धनुषा टिमले दुई अभर वाँकी छदै १ सय १७ रन बनाएर उपाधि चुम्न सफल भएका छन् । धनुषाको जितमा विशाल सुशलिङ्गले बनाएको अविजित ३९ रनको पारी निर्णायक बन्यो । उनी फाइनल खेलको म्यान अफ दी म्याच मात्र भएन म्यान अफ दी सिरिज समेत घोषित भए ।
साथै धनुषाका लागि मयन यादव २१, हरिशंकर साह र अकवर अलि ११/११ रन जोडेका थिए । बाराको तर्फबाट बलरहरु अरनिको यादव, कुमार थापा, निखिल सिंह र रवि कुमार साह १/१ विकेट लिएपनि जितका लागि प्रयाप्त हुन सकेन । विजेता धनुषा टिमले नगद २ लाख ५१ हजार र ट्रफी जितेका छन् भने उपविजेता बारा टिमले नगद १ लाख ५१ हजार र ट्रफी जितेका छन् ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, प्रतियोगीताका आयोजक तथा जनकपुरधामका मेयर मनोज कुमार साह, प्रदेश सांसद राम सरोज यादव सहितकाले विजेता बारा टिमलाई नगद राशी र ट्रफी प्रदान गरेका थिए भने उपविजेता बारालाई प्रतिनिधीसभा सदस्य मनिष झाले नगद राशी र ट्रफी हस्तान्तरण गरेका थिए ।
प्रतियोगीतामा म्यान अफ द टुर्नामेन्ट घोषित धनुषाका विशाल सुशलिङ्ग (६ विकेट र ८० रन) ले नगद १५ हजार, उत्कृष्ट बलर घोेषित भएका कृष्ण कार्की (९ विकेट) तथा उत्कृष्ट ब्याट्सम्यान घोषित भएका रोहन विके (९९ रन) ले नगद १०/१० हजार र ट्रफी जितेका छन् । त्यसैगरि छिटो अर्ध सतकीय पारी खेल्ने फास्टर फिफ्टीको पुरस्कार काठमाण्डौंका गजेन्द्र बोहरा जस्ले २२ बलमै ५० रन बनाएका थिए उनलाई पनि नगद दश हजार र ट्रफी सहित पुरस्कृत गरिएको छ ।
साथै प्रतियोगीतामा भुमिका निर्वाह गर्ने अफिसियल टिम, स्कोरर, सहयोगी, पिच व्यवस्थापन सहयोगी,जनप्रतिनिधीहरु, विभिन्न सहयोगी संस्था र व्यक्तिहरु, स्वयम सेवकहरु, रजौलका स्थानियवासी र युवा अगुवाहरु, सञ्चारकर्मीहरु सहितकालाई समेत समापन समारोहमा सम्मान गरिएको छ ।