एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३० : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले जनकपुरधामको धार्मिक सांस्कृतिक पहिचान जोगाउनका लागि स्थापना गरिएको बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा यस अघिको नेतृत्वमा विकृति तथा विसंगति देखिएको स्वीकार गरेका छन् ।
जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक रुपले समृद्ध बनाउनका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको स्थापना गरिएको थियो तर आफै बृहत्तर बिकृतिको डंगुरको रुपमा परिणत भएकोमा चिन्ता व्यक्त गरे । यद्यपि बृहत्तरमा सुधार ल्याउन लागिपरेको मन्त्री किराँतीले जानकारी दिए । बृहत्तर बिकृतिको डंगुरको रुपमा परिणत भईसकेको छ, मन्त्री किराँतीले भने ‘यसको ऐनमा संशोधन गरेर भएपनि बृहत्तरलाई ट्रैकमा ल्याउँछौँ ।’
त्यस्तै जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृति गराउनकालागि केही प्राविधिक त्रुटीहरु रहेको मन्त्री किराँतीले जानकारी दिए । यसअघि नै जानकी मन्दिर विश्वसम्पदामा सूचीकृत भई सक्नु पर्ने थियो तर भएन, उनले भने ‘यसमा केही प्राविधिक त्रुटीहरु देखिएका छन् त्यसमा सुधार गरेर यसका लागि हामीले पहल गर्ने छौँ ।’
एक अर्को प्रसंगमा मन्त्री किराँतीले जनकपुरधामको मैथिली संस्कृति विश्वभरी विख्यात रहेकाले यहाँ पर्यटनको प्रचुर सम्भावना रहेपनि त्यसको सदुपयोग गर्न नसकिएको बताए । उनले यहाँको पर्यटनमा विकास गर्नकालागि विमानस्थललाई सुविधासम्पन्न बनाउनु आवश्यक रहेको बताए ।
यहाँ भारतको विभिन्न शहरलाई हवाइमार्गसंग जोड्न सकिए पर्यटनमा लाभ उठाउन सक्ने मन्त्री किराँतीको भनाई थियो । यसकालागि जनकपुर विमानस्थलमा एटिआर विमानस्थल आवजावत गर्न सक्ने गरी विकास गर्नु आवश्यक छ । यहाँ विमानस्थलको धावन मार्ग छोटो छ, धावन मार्ग विस्तारको काम छिट्टै शुरु गरिने मन्त्री किराँतीले जानकारी दिए । वृहतरको सुधारका लागि योजनाहरु ल्याउने विषयमा मधेश सरकार र वृहतरका अध्यक्ष शितल साहसंग छलफल भइरहेको मन्त्री किराँतीले बताए ।