एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३० : गैरकानूनी रुपमा बाल विकास कोटामा नियुक्ति दिइएको शिक्षिकाहरुलाई शहीदनगर नगरपालिकाले हाजिर नगर्न नगराउनकालागि सम्बन्धित विद्यालयहरुलाई पत्र काटेको छ । यस अघि अवैधानिक तरिकाले बालविकास कोटामा नियुक्त गरिएका ती शिक्षिकाहरुलाई हाजिर नगर्न नगराउनकालागि पत्र काटेको हो ।
पालिकाको विभिन्न विद्यालयहरुमा अवैधानिक किसिमले बाल विकासमा शिक्षिकाहरु नियुक्त गरिएको भन्दै आवश्यक कारबाही गर्नकालागि शिक्षा विकास तथा समन्वय ईकाई धनुषाले भने बमोजिम यस्तो निर्णय गरिएको शहीदनगर नगरपालिकाका प्रमुख दिनेश प्रसाद यादवले जानकारी दिए ।
अवैधानिक नियुक्ति पाएर काम गर्दै आएका ती शिक्षिकाहरुलाई पटक पटक सत्यापनकालागि बोलायौँ, नगरप्रमुख यादवले भने ‘सक्कल कागज उपलब्ध गराउनका लागि ३/३ पटक ताकेता गर्यौँ तर कोही सक्कल कागज लिएर आएनन्, अन्त्यमा सम्बन्धित विद्यालयहरुलाई शिक्षिकाहरुलाई हाजिर नगर्न नगराउनका लागि पत्र काटेका छौँ ।’
शहीदनगर नगरपालिकामा ५६ वटा बाल विकासको कोटा रहेकोमा १६ वटा शिक्षिकाको नियुक्ति अवैधानिक रहेको पाइएको थियो । कार्यकाल सम्हालेपछि विद्यालयहरुको फाइल अध्ययन गर्यौँ, नगरप्रमुख यादवले भने ‘फाइल अध्ययन गरेपछि मात्रै थाहा पायौँ १६ जना शिक्षिकाहरुको फाइल पालिकामा उपलब्ब्ध छैन ।’ त्यसपछि ती शिक्षकाहरुको फाइल खोजीमा आफूहरु लागेको र उनीहरुको नियुक्ति नै अवैधानिक तरिकाले पाएको बताए ।
यता राजनीतिक प्रतिशोध साध्नकै लागि नगरप्रमुखले आफूहरुलाई हटाएको शिक्षिकाहरुले आरोप लगाएका छन् । ती शिक्षिकाहरु अहिले आन्दोलित भएका छन् । दैनिक नगरपालिका अगाडी नगरप्रमुख बिरुद्ध प्रदर्शन गर्दै आईरहेका छन् । नगरपालिकाले आफूहरुको नियुक्तिको पत्र माग गरेको थियो, शिक्षिका संजिला कुमारी यादवले भनिन् ’आफूहरुसंग सक्कल कागजात नरहेकाले फोटोकापी बुझायौँ ।’ सक्कल कागजात त विद्यालय संग छ, प्रधानाध्यापकसंग हाम्रो सक्कल कगजात माग गर्नु पथ्र्यो न कि हामीसंग, संजिलाले भनिन् ।
नगरप्रमुख यादवले आफूले राजनीतिक प्रतिशोध साध्नकालागि नभई शिक्षामा हुँदै आएको भ्रष्टाचार नियन्त्रणका लागि यस्तो निर्णय गरेको बताए । नगरको विकासमा जनतालाई महशुस हुने गरि कुनै काम गर्न नसकेको नगरपालिका शिक्षक शिक्षीका हटाउन र राख्ने खेलमा अल्मलाई रहेका छन् ।