एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३० : मिटरब्याज पिडितहरुको देश व्यापी आन्दोलन शान्त हुन वाँकी रहदै देशमा पुन: अर्को एक समुदाय आन्दोलनमा उत्रेको छ । हरवाचरवा नामक समुदायको दुई समुह मधेशको पुर्वी जिल्ला सप्तरी र पश्चिमी जिल्ला पर्साबाट पदयात्रा गर्दै राजधानी जनकपुरधाममा आएर शक्ति प्रदर्शन मात्र गरेनन देश ब्यापी पाँचबुँदे दबाबमूलक कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
आफुहरुसंग सरकारले अन्याय गरिरहेको भन्दै थप एक हरवाचरवा नामक समुदाय अधिकार यात्रा भन्दै जनकपुरधाममा आन्दोलन थालेका छन् । न्यायिक पुन:स्थापनाको माग गर्दै चैत २५ गतेदेखि पर्सा र सप्तरीबाट एकसाथ सुरु गरिएको हरवाचरवाको अधिकार यात्रा ६ बुँदे मागसहित जनकपुरधाम पुगेर आन्दोलनमा परिणत भएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन २ गते नेपालमा हरवाचरवा प्रथा मुक्त भएको घोषणा गरेपनि व्यवहारमा भने अझै कार्यान्वयन नभएको उनीहरूको गुनासो छ । दुई समूहमा विभाजन गरी सप्तरीको राजविराजबाट सुरु भएको पहिलो समूहको यो यात्रा लहान, बस्तीपुर, गोलबजार, औरही, गणेशमान चारनाथ, शहिदनगर हुँदै जनकपुरधाम पुगेको छ । उता, वीरगन्जबाट निस्केको अर्को टोली पनि बहुदरमाई, जितपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, ब्रह्मपुरी, जलेश्वर हुँदै जनकपुरधाम आइपुगेको हो ।
आफूहरूको अवस्था दयनीय हुँदा समेत राज्यले ध्यान नदिएको हरवाचरवा अधिकार मञ्चका केन्द्रीय महासचिव लागेन्द्र सदाले बताउनुभयो । रकारले हरवाचरवाको मुक्ति घोषणा गर्दै उनीहरूको पुनस्र्थापनाका लागि लगत संकलन, सत्यापन, परिचयपत्र वितरण, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो । यसका लागि भूमि व्यवस्था मन्त्रालयले कार्यविधि र कार्ययोजना निर्माण गरेपनि कार्यान्वयनमा आउन नसकेको अधिकारकर्मी महराले बताउनुभयो ।
यसैबीच, उनीहरूको बाहुल्य रहेको पालिकामा गई सम्बन्धित पालिका प्रमुखबाट लिइएको प्रतिबद्धतासहित मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेपनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्रमा उनीहरूलाई प्रवेश गर्न दिइएको थिएन । हलो जोत्ने हरवा र वस्तुभाउ चराउने चरवाको समग्र रूप हरवाचरवा हो । गिरहत अथवा जग्गा धनीसँग उसको खेतमा हलो जोले शर्तमा ऋण लिएपछि सोको व्याज र सावा तिर्नको लागि नमरुन्जेल हलो पनि जोत्दै जानुपर्ने र सावा व्याज पनि बढ्दै जाने दुश्चक्रमा उनीहरू फसने गर्छन् ।
दास प्रथाबाट मुक्त हुन राजविराज र वीरगञ्जबाट सुरु गरिएको पाँचदिने पैदल अधिकार यात्रा जनकपुरधाम पुगेर समापन भयो र आन्दोलनको रुप लिएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले पाँचबुँदे दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ । पाँचबुँदे कार्यक्रम अन्तर्गत मञ्चले हरवाचरवा अधिकार यात्राको स्थानीय स्तरमा समीक्षा तथा सन्देश प्रवाह गर्ने, ८ वटै जिल्लाका हरवाचरवा वाहुल्य २४ वटा पालिकामा एकै दिन आगामी नीति तथा कार्यक्रम र बजेटका लागि लिखित सुझावपत्र पेश गर्ने र मधेश प्रदेश सरकारअन्तर्गत दलित विकास समितिसँगको सहकार्यमा बृहत् अन्तरक्रिया गर्ने जनाएको छ ।
त्यस्तै, मञ्चले प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराउने र आगामी नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवा सवाल सम्बोधनका लागि सुझाव पेश गर्नेछ । त्यसैगरी, यी माग पूरा नभए पहिलो चरणमा पालिकामा, दोस्रो चरणमा प्रदेशको राजधानीमा र तेस्रो चरणमा जनकपुरदेखि काठमाडौँसम्म पैदल यात्रा गर्नेसमेत मञ्चले जनाएको छ । हलो जोत्ने हरवा र वस्तुभाउ चराउने चरवाको समग्र रूप हरवाचरवा हो ।
गिरहत अथवा जग्गा धनीसँग उसको खेतमा हलो जोले शर्तमा ऋण लिएपछि सोको व्याज र सावा तिर्नका लागि नमरुन्जेल हलो पनि जोत्दै जानुपर्ने र सावा व्याज पनि बढ्दै जाने दुश्चक्रमा उनीहरू फस्ने गर्छन् । सरकारले हरवाचरवा मुक्त भएको घोषणा गरेपनि मधेश प्रदेशका ८ जिल्लासहित मोरङ, सुनसरी, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा अझै हरवाचरवा प्रथा कायम रहेको मञ्चको दाबी छ ।