एसपी रिपोर्टर
जनकपुरधाम, चैत २८ : हरवाचरवाको अधिकार यात्रा मंगलबार जनकपुरधाम आइपुगेको छ । न्यायिक पुन:स्थापनाको माग गर्दै चैत २५ गतेदेखि पर्सा र सप्तरीबाट एकसाथ सुरु गरिएको हरवाचरवाको अधिकार यात्रा ६ बुँदे मागसहित मंगलबार जनकपुरधाम आइपुगेको हो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन २ गते नेपालमा हरवाचरवा प्रथा मुक्त भएको घोषणा गरेपनि व्यवहारमा भने अझै कार्यान्वयन नभएको उनीहरूको गुनासो छ ।
दुई समूहमा विभाजन गरी सप्तरीको राजविराजबाट सुरु भएको पहिलो समूहको यो यात्रा लहान, बस्तीपुर, गोलबजार, औरही, गणेशमान चारनाथ, शहिदनगर हुँदै मंगलबार जनकपुरधाम पुगेको छ । उता, वीरगन्जबाट निस्केको अर्को टोली पनि बहुदरमाई, जितपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, ब्रह्मपुरी, जलेश्वर हुँदै जनकपुरधाम आइपुगेको हो । आफूहरूको अवस्था दयनीय हुँदासमेत राज्यले ध्यान नदिएको हरवाचरवा अधिकार मञ्चका केन्द्रीय महासचिव लागेन्द्र सदाले बताउनुभयो ।
सरकारले हरवाचरवाको मुक्ति घोषणा गर्दै उनीहरूको पुनस्र्थापनाका लागि लगत संकलन, सत्यापन, परिचयपत्र वितरण, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो । यसका लागि भूमि व्यवस्था मन्त्रालयले कार्यविधि र कार्ययोजना निर्माण गरेपनि कार्यान्वयनमा आउन नसकेको अधिकारकर्मी महराले बताउनुभयो ।
यसैबीच, उनीहरूको बाहुल्य रहेको पालिकामा गई सम्बन्धित पालिका प्रमुखबाट लिइएको प्रतिबद्धतासहित मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेपनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्रमा उनीहरूलाई प्रवेश गर्न दिइएको थिएन । हलो जोत्ने हरवा र वस्तुभाउ चराउने चरवाको समग्र रूप हरवाचरवा हो । गिरहत अथवा जग्गा धनीसँग उसको खेतमा हलो जोले शर्तमा ऋण लिएपछि सोको व्याज र सावा तिर्नको लागि नमरुन्जेल हलो पनि जोत्दै जानुपर्ने र सावा व्याज पनि बढ्दै जाने दुश्चक्रमा उनीहरू फसने गर्छन् ।
दास प्रथाबाट मुक्त हुन राजविराज र वीरगञ्जबाट सुरु गरिएको पाँचदिने पैदल अधिकार यात्रा जनकपुरधाममा पुगेर मंगलबार समापन गरिएको छ । सरकारले मुक्ति घोषणा गरेपनि मधेश प्रदेशका ८ जिल्लासहित मोरङ, सुनसरी, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा अझै हरवाचरवा प्रथा कायम रहेको उहाँको भनाइ छ ।