एसपी रिपोर्टर
जनकपुरधाम, चैत २७ : जनकपुरधाम मेयर कप टी–२० प्रतियोगिता २०७९ अन्र्तगत सोमबार भएको दुई खेलहरुमा क्रमश विराटनगर र सप्तरी विजयी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा बिहान भएको पहिलो खेलमा विराटनगरले सर्लाहीलाई र दोस्रो खेलमा सप्तरीले काठमाण्डौंलाई पराजित गर्दै आफनो विजय सुरुवात गरेको हो ।
पाँचौं दिनको पहिलो खेलमा विराटनगर सर्लाहीका विरुद्व ७७ रनले विजयी भएको छ । टस हारेर ब्याटिङ्ग गरेको विराटनगरले सर्लाहीलाई १ सय ५२ रनको लक्ष्य दिएको थियो । विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको थियो । विराटनगरको तर्फबाट सुनिल धमलाले सर्वाधिक ५६ रन बनाए । यस्तै फिरदोस अन्सारीले ३७ रनको अविजित पारी खेल्दा सुजन थपलियाले २०, भास्कर दुब्बेले १२, मिनास थापाले १२ र मुकुन्द यादवले ९ रन बनाए ।
बलिङ्गतर्फ सर्लाहीका सन्दीप खडका, विशाल पटेल, चक्रधर यादव र सुमन शुक्लाले १/१ विकेट लिए । सर्लाहीले करिव १५ वटा क्याच समाउन नसक्दा म्याच हार्नु परेको हो । १ सय ५२ रनको लक्ष्य सहित जवाफि ब्याटिङ्गमा उत्रेको सर्लाही १९.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो । सर्लाहीको तर्फबाट विशाल पटेल र आतिश दासले १३ रन बनाउँदा अन्य ब्याट्सम्यान दोहोरो अंकमा समेत पुग्न सकेनन् । बलिङ्गतर्फ विराटनगरका भाष्कर दुब्बे सुनिल धमलाले ३/३ विकेट लिए भने दिपक राज जोशीले २, फिरदोस अन्सारी र दिपेश कँडेलले १/१ विकेट लिए । अर्धशतकीय पारी खेल्दै ३ विकेट लिन सफल धमलालाई म्यान अफ द म्याचको उपाधि प्रदान गरियो ।
त्यसै गरि सोमवारको दोस्रो रोमाञ्चक खेलमा सप्तरीले काठमाडौँ टिमलाई ५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको सप्तरीले २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रनको मध्यम स्कोर बनाएर काठमाडौँलाई १ सय २ रनको लक्ष्य दिएको थियो सप्तरीको तर्फबाट रोशन विकले सर्वाधिक ४० रन बनाए । यस्तै, अभिशेक कार्कीले १२ र विकास दासले १० रन बनाउँदा बाँकी खेलाडीले दोह्रो अंकमा रन बनाउन सकेनन् । बलिङ्गमा काठमाडौँका इशान पाण्डे र गजेन्द्र बोहराले ४/४ विकेट लिए भने गौतम केसीले १ विकेट लिए ।
१ सय २ रनको लक्ष्य लिएर ब्याटिङ्ग गर्न आएका काठमाडौँ २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । सप्तरीको बलिङ्ग र फिल्डिङ्ग हेर्न लायक थियो । काठमाडौँको तर्फबाट अशोक पौडेलले सर्वाधिक २४ रन बनाउँदा गजेन्द्र बोहरा १७, खडक बोहरा ११ र समिर कँडेलले १० रन बनाए । बाँकी खेलाडी दोह्रो अंकमा रन बनाउन सकेनन् । सप्तरीका लागि राहुल मण्डल ३, पप्पु र नितेश यादव २/२ तथा विकास दास एक विकेट लिएका थिए । प्रतियोगिताको छैटौं दिन मंगलबार बिहान ९ बजेदेखि विराटनगर र पर्साबिच पहिलो तथा दिउँसो १:४० बजेदेखि काठमाडौं र पोखराबिच दोस्रो खेल हुने आयोजकले जनाएको छ ।