एसपी रिपोर्टर
जनकपुरधाम, चैत २५ : तराई–मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेशचन्द्र लालले नागरिकता विधेयक, २०७९ लाई कानूनको रुप लिइसकेको घोषणा गर्न मांग गर्नु भएको छ । सार्वभौम जनताको प्रतिनिधि संघीय संसदबाट विधायन सम्बन्धी सबै संवैधानिक प्रक्रिया पूरा गरिसकेको र दोस्रो पटक पारित भएको १५ दिनभित्र प्रमाणिकरण हुनै पर्ने सो विधेयकलाई प्रमाणिकरण नगरी तत्कालिन राष्ट्रपति विद्या देवी भण्डारी संविधानको खुला उल्लंघन गर्नु भएको उहाँको आरोप छ ।
यसलाई अझै रोकेर राख्नु भनेको संविधानको घोर उल्लंघन, लोकतन्त्र विरुद्ध खुला प्रहार र राज्यको मूल कानूनप्रति अवज्ञा हो, लालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । वहाँले वर्तमान १० दलीय सरकारले पनि सो विद्ययेक कार्यान्वयन नर्गन जालझेल गरिरहेको तमलोपाको तर्क छ । वर्तमान सरकार आफ्नो प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा ६ महीनाभित्र नयाँ विधेयक पारित गर्ने भनेर उल्लेख गरेकोमा आपती जनाउदै लालले यो बुँदा अपराधलाई सदर गर्ने प्रयास मात्र गरिरहेको छैन, लोकतन्त्र र संविधानमाथि अर्को प्रहार गर्न खोजिरहेको छ भनेका छन् ।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वहाँले विधेयक अहिले पनि राष्ट्रपति कार्यालयमा रहेको र त्यसलाई प्रमाणिकरण गर्न कुनै कानूनी अवरोध नरहेकाले सम्माननीय राष्ट्रपतिलाई यथासिघ्र सो विधेयक प्रमाणिकरण गरी लोकतन्त्रको रक्षा गर्न मांग गर्नु भएको छ । पत्रकारहरुको प्रश्नको जवाफमा तराई–मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता डा.विजयकुमार सिंहले सार्वभौम जनताको प्रतिनिधि संघीय संसद सर्वोच्च हो कि होइन ? भन्ने प्रश्न गर्दै कुनै कानूनमा चित्त नबुझे प्रक्रिया अवलम्वन गरेर संशोधनका बाटोहरु प्रसस्त भएपनि संवैधानिक प्रक्रिया पूरा गरिसकेको र पारित पनि भइसकेको विधेयकलाई कानून बन्न बाट कसैलाई रोक्ने अधिकार नरहेको बताउनु भयो ।

वहाँले यो अत्यन्त गंभीर विषय भन्दै सबै लोकतन्त्रवादी, कानूनविद्, संचार र बुद्धजीवीहरु विधिको पालनाको पक्षमा आगाडि आउन जरुरी भएको बताउनु भयो । पत्रकार सम्मेलनमा नेतृ विभा ठाकुर नेताहरु सतिष सिंह सहितको उपस्थिती थियो ।