एसपी रिपोर्टर
जनकपुरधाम, चैत २४ : लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनललाई केन्द्रीय प्रतिनिधिका रुपमा उपनिर्वाचनको कमान्डरको जिम्मेवारी दिएको छ । आगामी बैशाख १० गते हुने उपनिर्वाचनलाई सफल एवम् परिणाम मूखि बनाउने उद्देश्यका साथ पार्टीको तर्फबाट सोनललाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको हो ।
बारा जिल्लामा राजनितिका चतुर र अनुभवी तथा लगातार संघ र प्रदेशमा निर्वाचित हुदै आएका हालका प्रदेश सांसद समेत रहेका सोनल बारा क्षेत्र नम्बर–२ का उम्मेदवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, गठबन्धका दलहरु एवम् लोसपा नेपालका जिल्ला तथा क्षेत्रका पार्टी पंक्तीसँग समन्वय र सहकार्य गरि निर्वाचनलाई सफल एवम् परिणाममूखि बनाउने उद्देश्यका साथ पार्टीको तर्फबाट सोनललाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर–२, चितवन क्षेत्र नम्बर–२ र तनहुँ क्षेत्र नम्बर–१ मा हुने उपनिर्वाचनमा लोसपा नेपालले पाँचदलीय सत्ता गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्ने बताइसकेको छ । लोसपाको मजबुत खम्बा मानिने सोनलको साथ र सहयोगले गठबन्धनलाई उर्जा मिल्ने बताइन्छ ।