एसपी रिपोर्टर
जनकपुरधाम, चैत २४ :
शुक्रबार विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ । यसैक्रममा जनकपुरधाममा पनि प्रभातफेरी, स्वास्थ्य शिविरमा चेकजाचलगायत कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाइएको छ । जनक चौकबाट निस्किएको प्रभातफेरी नगरका विभिन्न स्थानको परिक्रमा गर्दै रेल्वे स्टेशनमा पुगेर समापन भएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्री सुरिताकुमारी साहले आफ्नो स्वास्थ्यका साथै अरुको स्वास्थ्यप्रति पनि सबै जागरुक हुनुपर्ने बताउनुभयो ।
यो दिवसको अवसरमा मधेश सरकारको सामाजिक मन्त्रालयले जनक चौक, रेल्वे स्टेशन र बस स्ट्यान्डमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । त्यस्तै, शुक्रबार मधेश सरकारअन्तर्गतका सबै अस्पतालमा ओपीडी सेवा निशुल्क गरिएको छ ।
प्रभातफेरीमा सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई डाक्टर विनोद यादव मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर अंकर साह, विश्व स्वास्थ्य संगठनका प्रदेशस्तरीय स्वास्थ्य अधिकृत रमेश यादव, स्वास्थ्य निदेशनालयका पदाधिकारी, जनकपुरधामका मेयर मनोजकुमार साहलगायत सहभागी भएका थिए । स्वास्थ्य प्रबर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ । शुक्रबार विश्व स्वास्थ्य संगठनको ७५ औं वार्षिकोत्सव रहेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो ।