एसपी रिपोर्टर
जनकपुरधाम, चैत २४ : आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले बारा २ मा बैशाख १० गते हुने उपचुनाव नेपालको मात्र नभई भारतको युपि र विहारको चुनाव जस्तो पनि लागिरहेको बताएका छन् । जनकपुरधाममा शुक्रवार पार्टीको धनुषा समितिले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका साहले बारा २ को उपनिर्वाचनमा भारतको युपि र विहारको जनताको पनि एकदमै उत्सुकता देखिएको भन्दै नेपालकै अरु जिल्लाका जनता किन चासो नराख्ने भन्दै सचेत रहन आग्रह गरे ।
उनले भने, ‘भारतको युपि विहार सक्रिय हुने अनि नेपालकै धनुषा सहित अन्य जिल्लाका जनता किन चुप भएर बस्ने ?’ उनले आफनो पार्टी चुनाव जित्ने समेत बताए । गठबन्धनको नाउँमा एक जेनुन नेता कार्यक्रताको भविष्य तहसनहस पार्ने काम गर्न नहुने समेत उनले बताए । आफनो पार्टी नेपालमा दलिय तन्त्र हटाउन लागि पर्ने समेत उनको भनाई छ । दलिय तन्त्रमा मात्र भागबण्डाको खेल भइरहेकाले दलियतन्त्र हटाए मात्र जनताको कल्याण हुने उनको तर्क छ ।
१५ लाख युवाहरु विदेशमा कमाउन गएपनि देशको दुर्दशा हुनु र देशमा पैसाको हाहाकार हुनुमा षडयन्त्र रहेको उनको तर्क छ । देशका केहि घाराना र त्यसका आसेपासेहरु हरेक देशमा बसेर नेपालका श्रमिक स्वदेश पैसा पठाउँदा हुण्डीमा पैसा पठाउन लगाएर विदेशमै पैसा घेरेर देश बर्बाद गर्ने काम गरिरहेको उनले सुनाए । कार्यक्रममा पार्टीका उपाध्यक्ष बद्रि न्यौपाने, उपमहासचिव कुन्दन कुशवाहा, नेता श्रीलाल महासेठ, सन्तोष राज सहनी, सेलिना कुवर सहितको उपस्थिती थियो ।