एसपी रिपोर्टर
जनकपुरधाम, चैत २३ : लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको छ । मधेस केन्द्रित साना दलहरू तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले आपसी सहकार्य गर्दै गठन गरेको लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
मोर्चाले विभिन्न ११ सूत्रिय मागसहित जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । लोकतान्त्रिक मधेसी मोर्चाले बुझाएको ज्ञापनपत्रमा मुलुकमा विधिको शासन र लोकतान्त्रिक अभ्यासको पूर्ण पालना हुनुपर्ने माग गरिएको छ ।
मधेस, थरुहट, आदिवासी जनजाति, मुस्लिम, दलित, पिछडावर्गको मागको सम्बोधन र स्थानीय तथा प्रादेशिक तहको प्रतिनिधित्व गर्ने संघीय संसदको सदन राष्ट्रियसभामा जनसंख्यामा आधारित प्रतिनिधित्व तथा संघीय संसदीय अभ्यासमा राष्ट्रियसभाको समान भूमिका लगायतका विषयमा त्रुटिहरु सुधार्न संविधानको संशोधन गर्नुपर्ने मागसमेत गरिएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवमार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेपनि मुख्यमन्त्री यादवले समय उपलब्ध नगराएको गुनासो गरे ।
उनले राष्ट्रपतिले नै संविधानको उल्लंघन गरिरहेकोले लोकतन्त्रमाथि खतरा रहेकोसमेत आरोप लगाएका छन् । ज्ञापनपत्र बुझाउनु अघि लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताहरु स्थानीय जनकचोकबाट नारा जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सो अवसरमा वरिष्ठ नेता डा. विजय सिंह, नेतृ विभा ठाकुर सहित मोर्चामा आवद्व दलका नेताहरुको सहभागिता थियो ।