एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० : प्रतिनिधिसभा अन्तर्गत बारा क्षेत्र नम्बर २ बाट विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज निर्धारित समयसीमा भित्र ३६ जनाले उम्मेदवारी दिएका हुन् ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव सो क्षेत्रबाट निर्वाचित भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उम्मेदवारी दिएका छन् ।
यी सबै गत मंसिरमा सम्पन्न निर्वाचनमा विभिन्न क्षेत्रमा उम्मेदवार रही पराजित भइसकेका हुन् । सत्ता गठबन्धनमा रहेका ठुला दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको साझा उम्मेदवारका रुपमा जसपा नेपालका अध्यक्ष यादवले उम्मेदवारी दिएका हुन् । उनी दिउँसो २ बजेतिर उम्मेदवारी दर्ता गराउन कलैया पुगेका थिए । बारा जिल्ला समन्वय समितिको कार्यालयस्थित निर्वाचन कार्यालयमा पुगेर यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।
नेता कार्यकर्ताको हुलसहित उम्मेदवारी दर्ता गराएका यादवको प्रस्तावकमा नवलकिशोर यादव र समर्थक नारायण यादव छन् । यस्तै एमालेबाट पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । ‘आगामी दिनमा स्थायित्व र राष्ट्रियताको संरक्षण गर्दै एमालेलाई राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्ने छ । यो उपनिर्वाचन भविष्यको रेखा हो,’ उनले भने, ‘यो क्षेत्रबाट एमालेले २०४८ साल, २०५६ सालमा जितेको थियो, अहिले फेरि जित्ने संकेत आएको छ ।’
यस क्षेत्रमा उत्पीडित जाती, क्षेत्र, लिङ्ग एमालेको पक्षमा खडा भएकाले आफूले जित्ने पौडेलको दाबी छ । ‘गठबन्धन नेताहरुको बिचमा भएको हो जनताको बिचमा होइन,’ उनले भने, ‘देश र जनताको विकासको नेतृत्व गर्ने एमालेले देखाइसकेकाले मेरो जित सुनिश्चित छ ।’ पौडेलको प्रस्तावकमा बलविर चौधरी र समर्थकमा बन्दना सिंह छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका रमेश खरेलले यस क्षेत्रको शिक्षा, स्वास्थ्य र सुरक्षामा केन्द्रित भएर काम गर्ने दाबी गरे । मतदाता नै आफ्नो संगठन भएकाले जित सुनिश्चित भएको उनको भनाइ छ । ‘यो देशमा शिक्षा, स्वास्थ्य राम्रो छैन । सुरक्षाको स्थिति उस्तै छ । हाम्रो मतदाताले राम्रो शिक्षा र स्वास्थ्य पाएका छैनन्,’ उनले भने, ‘सुरक्षा क्षेत्रमा अहोरात्र खटेर काम गरेको थिएँ । आगामी दिनमा यस क्षेत्रको शिक्षा, स्वास्थ्य र सुरक्षाका लागि अहोरात्र खट्ने छु ।’
यस्तै जनमत पार्टीबाट उम्मेदवारी दिएका शिवचन्द्र कुशवाहाले विगतदेखि जनताको सेवा गरेकाले आफूले यस पटक जित्ने दाबी गरे । ‘मैले स्वतन्त्र रुपमा चुनाव लड्न खोजेको थिएँ । जनताको बिचमा गएँ । जनताले कुनै पार्टीबाट लड्न सुझाव दिनुभयो,’ कुशवाहाले भने, ‘धेरै जनाले जनमत पार्टीबाट चुनाव लड्नुस् भन्नुभयो । मलाई पनि यही पार्टीबाट चुनाव लड्नुपर्छ भन्ने भएपछि चुनाव लडेँ ।’ आफूलाई भारी मतका साथ विजयी गराउने कुशवाहाको दाबी छ ।
बारा २ को उपनिर्वाचन अन्तरगत सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का डा.कमरुल्लाह अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा रहेपनि नाउपाले छुट्टै उम्मेदपारी दर्ता गराएको हो ।
बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि राप्रपाका सोनेलाल यादव तेलीलेले पनि उम्मेदवारी दर्ता गराएका छन् । राप्रप्रा उम्मेदवार तेलीको सर्मथनमा हरिचन्द्र प्रसाद चौधरी र प्रस्तावकमा अजय राउत कहार रहेका छन् ।
पुर्वमन्त्री प्रभु साहले गठन गरेको पार्टी आम जनता पार्टीको तर्फबाट अधिवक्ता अरुण ज्ञवालीले मनोनयन दर्ता गराएका छन् ।
उपनिर्वाचन हुने तिनै क्षेत्रमा गरि कुल ६९ को उम्मेदवारी
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार तीन निर्वाचन क्षेत्रमचा गरेर ६९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।
आयोगका अनुसार चितवन–२, तनहुँ–१ र बारा–२ मा उम्मेदवारहरुले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ता गराएका थिए । जसअनुसार चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ जना उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
यि हुन उपनिर्वाचनका ६९ उम्मेदवारहरुको सुचि