एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० : जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाममा धार्मिक सदभाव रयाली निकालेको छ । जनकपुरधामका मेयर मनोज कुमार साह र धनुषाका सिडिओ काशिराज दाहालको अगुवाईमा निस्केको रयालीमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास र मुस्लिम समुदायका मौलानाहरुको समेत सहभागिता रहेको छ ।
गत चैत १६ गते रामनवमीका दिन हिन्दु अभियानीहरुले निकालेको शोभायात्रा जानकी मन्दिरको परिक्रमा गर्नका लागि जानकी मन्दिर पछाडिको मदरसा भएको गल्लीमा पुग्दा भएको समान्य विवादलाई मुस्लिम आयोग सहितका संस्थाहरुले विज्ञप्ती निकालेर नकारात्मक किशिमले प्रचार प्रसार गर्न खोजेपछि जनकपुरधाममा सदभाव कायम रहेको सन्देश प्रवाह गर्न जुलुस निकालिएको बताईन्छ ।
सदभाव रयालीमा मुस्लिम समुदायका अगुवा र युवाहरुको बाक्लो उपस्थिती देखिएपनि हिन्दु अगुवा, अभियानी मात्र होइन सर्वसाधारणहरुको समेत सहभागिता फितलो देखिएको छ । जनकपुरधामका सञ्चारकर्मी, नागरिक अगुवाहरुको पनि न्युन उपस्थिती देखिएको छ । मुस्लिम अगुवाहरुले दशकौं दशक देखि भाईचारा सहित जनकपुरधाममा बस्दै आएको हिन्दु र मुस्लिम बिचको भाईचारा बिर्गान नदिन आफुहरु सचेत रहेको बताएका छन् ।