एसपी रिपोर्टर
जनकपुरधाम, चैत १४ : जनकपुरधाममा प्रदेश स्तरीय क्रिकेट प्रतीयोगिता मेयरकप २०७९ हुने भएको छ ।
मधेश प्रदेशको आठवटै जिल्लाको टिमहरु सहित कुल १२ टिमहरुको सहभागितामा जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गर्न लागेको प्रतियोगिता अगामि चैत २३ गते देखि हुने भएको छ । जनकपुरधामको वडा नं. १४ रजौल स्थित प्रस्तावित श्रीरामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशालामा आयोजना हुने क्रिकेट प्रतियोगीताले प्रस्तावित रंगशाला निर्माण अभियानको आधारस्तम्भको रुपमा लिइएको छ ।
कुल ३७ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगीतामा धनुषा जिल्ला क्रिकेट संघको समन्वय र फ्याक्ट नेपालको सहकार्य रहेको बताइएको छ । लिग चरणमा खेलाइने कुल १० खेलहरु दैनिक एक एक गरि १० दिन सम्म आयोजना हुने छ । चैत २३ गते विश्व खेल दिवस परेकाले सोहि अवसरमा प्रतियोगीताको समुदघाटन गरिनेछ ।

अन्तराष्ट्रिय विकास र शान्तिका लागि खेलकुद मुल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा धनुषा र महोतरीका मेयर तथा सांसद विरुद्व पत्रकारहरुको मैत्रीपुर्ण खेलको समेत आयोजना हुने जनकपुरधामका मेयर मनोज कुमार साहले बताए ।

धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले प्रतियोगितामा सहभागि हुन कुनै पनि शुल्क नलाग्ने बताउदै प्रतियोगीता जित्ने टिमले २ लाख ५१ हजार र उपविजेताले १ लाख ५१ हजार पुरस्कार सहित आकर्षक ट्रफी जित्ने बताए । त्यसैगरि म्यान अफ दि सिरिजले २५, उत्कृष्ट बलर र बल्लेबाजले क्रमश दश/दश हजार र म्यान अफ दी म्याचले ३ हजार नगद पुरस्कार पाउने छ । मधेशको आठ जिल्लाको आठ टिम र अन्य प्रदेशहरु कोशी, बागमती, गण्डकी र लुम्बिनीको टिमहरुको सहभागिता रहने उनले बताए ।

पत्रकार सम्मेलनमा जनकपुरधामका विभिन्न वडाका वडाअध्यक्षहरु, धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डे, अन्तराष्ट्रिय क्रिकेट प्रशिक्षक नविन सिंह, खेलप्रेमीहरु आशिष झा, सरोज मिश्र, आकाश पाण्डे सहितको उपस्थिती थियो ।