एसपी रिपोर्टर
जनकपुरधाम, चैत १२ : तराई मधेस सहित मिथिलाञ्चल क्षेत्रमा चैते छठ मनाइदै छ । चैत्र शुक्लपक्ष चतुर्थी तिथिबाट नहाय खाय गरेर शनिवारबाट शुरु भएको चैते छठ अन्तर्गत आज पञ्चमी तिथिका दिन खरना विधि मनाइदै छ ।
बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवताको कोठामा छठी माई देवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन् । यो विधिलाई ‘खरना’ भनिएको हो । श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् ।
आज दिनभर उपवास गर्ने बर्तालुले सूर्यास्त पछि चन्द्र दर्शन गरेर यो विधि सम्पन्न गरेका हुन । कार्तिक महिनामा मनाइने शरद ऋतुको छठ जस्तै विधि विधान अनुसार गृष्म ऋतुमा मनाइने यस छठ पर्व अन्तर्गत षष्ठी तिथिका दिन अस्ताउँदो तथा सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि यसको समापन हुन्छ ।