एसपी रिपोर्टर
जनकपुरधाम, चैत ६ : धनुषामा एकजना व्यक्ति विष सेवन गरेको अवस्थामा सिकिस्त भेटिएका छन् । धनुषाको जनकपुरधाम उपमहागरपालिका वडा नं. ४ का ४५ वर्षीय शैलेन्द्र कर्ण विष सेवन गरेको अवस्थामा साढे ४ बजेतिर भेटिएका हुन् ।
लेनदेनको छिनोफानोको क्रममा उनले आवेगमा विष सेवन गरेको बताइएको छ । प्रहरी उपरीक्षक विश्वराज खड्काले जनकपुरको कदमचोकबाटै आफू विष सेवन गरी जिल्ला प्रहरीमा आएको भन्ने वयान प्रहरीमा उनले दिएको बताए ।
विष सेवनबाट सिकिस्त बनेका उनलाई जनकपुरको जानकी हेल्थकेयर अस्पतालको आइसियुमा भर्ना गरिएको छ । उनकी श्रीमती किरण कर्णले प्रहरीले विष सेवन गरेको अवस्थामा तपाँईको श्रीमान यहाँ छन् आउनोस भन्दै खबर गरेपछि आफू जिल्ला प्रहरी पुगेका बताईन ।

कर्ण दालमोट सहित भूजाको व्यवसाय गर्छन् । कर्णले लेनदेनका क्रममा शुभाष भन्ने व्यक्तिलाई चेक दिएका रहेछन् । चेक बाउन्स भएपछि शुभाष प्रहरीमा गएको र सोहि लेनदेनको विषयमा आज जिल्ला प्रहरी कार्यालयमा छलफलका लागि प्रहरीले उनलाई बोलाएको थियो ।
कर्णलाई प्रहरीले पैसा दिनुहुन्छ कि कारवाही प्रक्रिया अगाडि बढाँउ ? मुद्दा पनि चल्न सक्छ सहितका कुरा गरेपछि कर्ण बाहिर गएर आवेगमा विष सेवन गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।