एसपी रिपोर्टर
जनकपुरधाम, चैत ६ : जनकपुरधामको बहुप्रतिष्ठित रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार मनिस कुमार यादव निर्वाचित भएका छन् । सभापतिमा यादवले १ हजार १ सय ४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७ सय १५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, पाँचदलीय गठबन्धनका उम्मेदवार गौतम कुमार यादवले ११८ मत मात्र ल्याउन सकेका छन् । एता स्ववियुको अर्को मुख्य पद सचिवमा भने लोकतान्त्रिक विद्यार्थी संघका करण साह निर्वाचित भएका छन् । साहले ९ सय २६ मत ल्याउँदा नेविसंघका रञ्जित कुमार मण्डल ८ सय ९ मत ल्याएका छन् । नेविसंघले सचिव बाहेक प्रत्यक्ष तर्फको सबै १० पद जितेको छ । कोषाध्यक्षमा नेविसंघका राकेश कुमार सिंह ९ सय ९८ मत ल्याएर विजयी हुँदा लोविसंघका अजय कुमार पण्डित ८ सय २६ मत प्राप्त गरेका छन् ।
प्रत्यक्ष तर्फ निर्वाचित हुनुपर्ने अन्य ८ जना सदस्यमा सबै नेविसंघले कब्जा गरेको छ । सदस्यहरुमा नेविसंघका क्रमश रोशनी कुमार कर्ण १००८, सोनु झा १००४, मुन्ना कुमार प्रधान ९९९, जितेन्द्र यादव ९८९, विकास कुमार साह ९८१, नविन कुमार कुसयैत यादव ९७८ , दिपेन्द्र महतो ९७६ र अभिशेष शर्मा ९७० मत ल्याएर विजयी भएका छन् ।
स्ववियुको नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको थियो । राराब क्याम्पसमा ७ हजार २ सय १५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६ सय ६२ जनाले मत खसाएका थिए । राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जना सहित कुल ८८ जनाले उम्मेदवारी दिएका थिए । राराबको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिएका छन् ।