एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३ : वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले आफु माथी नियोजित रुपमा लगाइएको कुनै पनि आरोपको खण्डनका लागि आफु प्रमाण दिन तयार रहेको बताएका छन् । विहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै साहले वृहतरका कर्मचारी जितेन्द्र कुमार यादव पहिला देखिनै परिचालित पात्र बनेर वृहतरलाई बर्बाद पार्ने काम गर्दै आएको प्रमाण पनि प्रशासन संग रहेको दावी गरेका छन् ।
विभिन्न वाहानामा आन्दोलन गर्ने, कार्यालयको काम प्रभावित गरि आफु र उनलाई परिचालन गर्ने वाहिरी तत्वको निहित स्वार्थ पुरा गर्न उनी सक्रिय रहेको र आफु आएपछि पनि सोहि गतिविधीमा रहेको आरोप उनको छ । साहले कर्मचारी यादव काम गर्नु भन्दा पनि म्याच फिक्सिङ्ग गरेर पैसा कमाइरहेको र वृहतरलाई बर्बाद पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।
आफुमाथी लगाइएका सम्पुर्ण नियोजित आरोपलाई गलत सावित गर्ने प्रमाणहरुका लागि आफु सदैव तत्पर रहेको र वृहतरलाई यथास्थितीमा राखेर बजेट कुम्ल्याउने आखाडाको रुपमा प्रयोग गर्ने गरेको प्रमाणहरु सहित आफु उपयुक्त समयमा प्रस्तुत हुने उनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
उनले विज्ञप्तीमा केहि सञ्चार माध्यमहरुमा आफु विरुद्व आएको समाचार भ्रामक र कपोकल्पित रहेको भन्दै आफु प्रमाण दिन र गत वर्ष ८५ लाख खर्च गरेर विवाह पञ्चमीको व्यवस्थापन भएकोमा आफुले गत विवाह पञ्चमीमा मात्र १२ लाख खर्च गर्दा पनि २५ लाख भनेर गलत समाचार सम्प्रेशन गरिएको समेत उल्लेख गरेका छन् ।