एसपी रिपोर्टर
काठमाण्डौं, चैत ३ : देशको उपराष्ट्रपति पदमा गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।
शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् । २०२७ साल साउन ९ गते बारा कलैयाको महेशपुरमा पिता प्रसाद राय यादव र माता सिहवा देवीका सुपुत्रका रुपमा जन्मेका यादव बिएससी, बिएड अध्यन्न गरेका छन् । पुर्व शिक्षक समेत रहेका उनी तत्कालिन मधेशी जनअधिकार फोरमबाटै सक्रिय राजनिति आरम्भ गरेका हुन ।
तिन पटक सम्म बारा बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव शेर बहादुर देउवा नेतृत्वको सरकारमा यस अघि वन तथा वातावरण मन्त्री बन्नु भन्दा अगाडी पहिलो संबिधान सभा सदस्य हुदा प्रचण्ड नेतृत्वको सरकार र झलनाथ खनाल नेतृत्वको सरकारमा मन्त्री बन्न अस्विकार गरेका थिए । देशमा संविधान नबनुन्जेल मन्त्री नबन्ने प्रण गरेका उनी गत देउवाको सरकारमा केहि दिनका लागि बन मन्त्री बने ।
प्रतिनिधिसभाको २०७४ को निर्वाचनमा प्रत्यक्ष तर्फ निर्वाचित संघिय समाजवादी फोरम नेपालको दशजना सांसद मध्ये निर्वाचन आयोगको तथ्यांक अनुसार सबै भन्दा बढी मत ५२ प्रतिशत मत प्राप्त गरि निर्वाचित भएका यादव पहिलो संबिधान सभा सदस्य समेत भइसकेका हुन । मधेशी जनअधिकार फोरम नेपाल, संघिय समाजवादी फोरम नेपाल, समाजवादी पार्टी हुदै जनता समाजवादी पार्टी निर्माण हुँदा महासचिवको रुपमा डेढ दशक सम्म पार्टीमा सफलता पुर्वक नेतृत्व प्रदान गरेको कुशल अनुभव उनी संग थियो ।
लोकतान्त्रिक आन्दोलन र मधेश आन्दोलनमा पटक पटक जेल परेका यादवको भूमिगत नाम चन्द्र गुप्त थियो । उनी जसपाको नेता भएपनि बिपक्षीले पनि प्रशंसा गर्ने साधारण जीवन शैली, शालिन र भद्र स्वभावका व्यक्तित्व मानिन्छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको बिश्वासपात्र यादव उपराष्ट्रपति बने संगै उनी जितेको क्षेत्रमा चुनाव लडेर संसद पुग्ने पार्टी अध्यक्ष यादवको बाटो खुलेको छ ।