एसपी रिपोर्टर
जनकपुरधाम, चैत २ : आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकोमा मधेश सरकारले खुसी व्यक्त गर्दै नेपाली टोलीलाई बधाई ज्ञापन गरेको छ । साथै मुख्यमन्त्री सरोज कुमार यादवले सो विजेटा टोलीमा रहेको मधेशका दुई खेलाडी गुलशन झा र आरिफ शेखको खेलको उच्च प्रशंसा गर्दै दुवैजनालाई जनही दुई लाखको दरले प्रोत्साहन रकम प्रदान गर्ने घोषणा समेत गरेको छ ।
मुख्यमन्त्री यादवले आजको युएईमाथिको गौरवपूर्ण जितको लागि नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई समेत दिएका छन् । कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि प्रशंसा गर्दै मधेश सरकारले प्रदेशका खेलाडी गुलशन झा र शेखको तेजस्वी तथा सौर्यपूर्ण खेल लामो समयसम्म खेलप्रेमीहरुको सम्झनामा रहिरहने बताउँदै मुख्यमन्त्री यादवले मधेश प्रदेशका अर्का खेलाडी आरिफ शेष समेतले खेलद्वारा मधेशको मान बढाएकोमा प्रसन्नता व्यक्त गर्दै झा र शेखलाई प्रोत्साहन स्वरुप मधेश प्रदेश सरकारको तर्पmबाट जनही दुई–दुई लाख नगद प्रदान गर्ने घोषणा गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिएका छन् ।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (यूएई) लाई रोमाञ्चक ९ रनले पराजित गरेको हो । यो जितसँगै नेपालले एक दिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने पक्का भएको हो । यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा नेपाल विजयी भएको हो ।