एसपी रिपोर्टर
काठमाण्डौं, चैत २ : आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (यूएई) लाई ९ रनले पराजित गरेको हो ।
यो जितसँगै नेपालले एक दिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने पक्का भएको हो । यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा नेपाल विजयी भएको हो ।

लिग–२ मा नेपालको ४० अंक भएको छ । नामिबियालाई पछि पारेर नेपाल तेस्रो नम्बरमा पुगेको हो । आजको खेलमा नेपालमा ४ जना खेलाडीले अर्धशतक बनाए । नेपालका लागि कुशल भुर्तेलले ५०, भीम सार्कीले ६७, आरिफ शेख ५२ र गुल्सन झाले ५० रन बनाए । यूएईका जुनैद सिद्दिकीले ३ विकेट लिए ।
त्यस्तै पछिल्ला १२ खेलमा नेपाल ११ वटा खेलमा विजयी भएको छ । एउटा खेलमा पराजित भएको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । आशिफ खानले १ सय १ रन बनाए ।
उनले ४० बलमै शतक पूरा गरेका हुन् । त्यस्तै, वृत्य अरविन्दले ९४, मोहम्मद वासिमले ६३ रन र रोहन मुस्ताफाले २० रन बनाए । बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।