एसपी रिपोर्टर
सिरहा, फागुन ३० : मधेश सरकारकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुनिता यादवले चुरे नाङ्गो भइरहेकाले चुरेसंग जोडिएका नदीह्रुको अवस्था धरापमा रहेको बताएकी छन् । सिरहाको करजन्हा नगरपालिकाको उतरबाहिनीको कमला छेउमा आयोजित नदी संरक्षण तथा अधिकार अभियान नदी निती संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले चुरे दोहनको कारणले जिवनको आधार जल र जलको आधार नदीनै बिनाश हुने अवस्थामा पुगेको बताइन ।
मन्त्री यादवले जमिन मुनीको पानीको सतह दिनानुदिन घटदै गएको भन्दै हातेकल मात्र होइन कमला जस्ता भरिभराउ रहने नदीमा समेत पानीको सतह घटनु मानव जातीकै लागि खतरनाक भएको बताइन् । कार्यक्रममा उपस्थित धनुषा र सिरहाको विभिन्न पालिकाका प्रमुख र उपप्रमुहरुले मधेशको जनजिवन दैनिकी, धार्मिक र सांस्कृतीक रुपले समेत नदीहरु संग जोडिएकाले नदी बचाउनु सबैको कर्तव्य रहेको बताए ।
नदी बचाउन सक्रिय अभियानी र खोज अनुसन्धानकर्ताहरुले उदयपुर, सिरहा, धनुषा, महोतरी सहितका तराईका नदीहरुमा पानीको सतह घटदै गएर नदीकै अस्तित्व संकटमा परिरहेको उदाहरण प्रस्तुत गरेका थिए । कार्यक्रममा पुर्वमन्त्री तथा माओवादी केन्द्र मधेशका ईन्चार्ज गणेश साह, कमला बचाउ अभियानका विक्रम यादव, मित्र राष्ट्र भारतका कमला बचाउ अभियानका अभियानी तथा जल संरक्षणका अभियानीहरु, धनुषाको गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जितनारायण यादव, कमला नगरपालिकाका मेयर बिश्वेश्वर यादव सहित सिरहको करजन्हा, कल्यानपुर सहितका पालिकाका प्रमुख र उपप्रमुखहरुको उपस्थिती थियो ।