एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ३० :
मधेस प्रदेशको शिक्षा विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले मधेस प्रदेशको साक्षर दर ५० प्रतिशतपनि नरहेकोमा चिन्ता व्यक्त गरेका छन् । कक्षा ९मा अध्ययनरत छात्रछात्राहरुका लागि शैक्षिक किट वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले मधेस प्रदेशको शैक्षित स्तर खस्किरहेकोमा चिन्ता व्यक्त गरे ।
मन्त्री यादवले भने ‘मधेश प्रदेशका शिक्षकहरु पहाडमा गएर पढाउने जिल्लाहरु साक्षर भईसके, तर आफ्नो गृह जिल्ला र गृह प्रदेश अहिले सम्म ५० प्रतिशत पनि साक्षर नहुनु ठूलो बिडम्बना हो ।’ यसमा सुधार ल्याउनका लागि स्थानीय तहबाटै अभियानको शुरुवात गर्नुपर्नेमा मन्त्री यादवले जोड दिए । उनले प्रदेशलाई साक्षर बनाउन स्थानीय तहका सरोकारवाला, विद्यालयका प्रध्यानाध्यापक, प्रदेशका शिक्षादिहरुलाई एकै ठाउँमा राखेर छलफल गरी प्रदेश सरकारले निकट भविष्यमा ठोस योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउने अभियानका क्रममा प्रदेश भरिका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट प्रदान गर्ने अभियान प्रदेश सरकारले अगाडी बढाएको छ । अभियानको शुरुवात सप्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुलाई शैक्षिक कीट बितरण गरेर गरिएको हो । मंगलबार धनुषा र महोत्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई शैक्षिक किट प्रदान गरिएको छ ।
कार्यक्रममा धनुषा जिल्लाभरिका सम्पूर्ण सामुदायिक विद्यालयका कक्ष ९ मा अध्ययनरत विद्यार्थीहरुकालागि स्कूल व्याग र जीयोमेट्रिबक्स विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको थियो ।