एसपी रिपोर्टर
जनकपुरधाम, ३० फागुन :
मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. प्रमोद कुमार यादवलाई पदमुक्त गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री यादवले प्रतिष्ठानका सहकुलपति समेत रहेकी सामाजिक विकासमन्त्री सुरिताकुमारी साहलाई डा. यादवलाई अस्पतालको निर्देशकबाट हटाउन मौखिक निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री यादवले सोमबार अस्पतालको छड्के अनुगमन गर्दा निर्देशकसहित अधिकांश चिकित्सकहरू अनुपस्थित रहेको पाइएपछि मंगलबार आफूलाई यस्तो निर्देशन दिएको सामाजिक विकासमन्त्री साहले बताइन् ।
मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको ल्याब प्रमुख परमेश्वर यादवलाई पनि गलत रिपोर्ट बनाउने कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको उनले जानकारी दिइन् ।
प्रादेशिक अस्पतालको ल्याबबाट एउटै व्यक्तिको ब्लड ग्रुपको फरक फरक रिपोर्ट दिइएको समाचार प्रकाशित भएपछि मुख्यमन्त्री यादवले अस्पतालको छड्के अनुगमन गरेका थिए ।
मुख्यमन्त्री यादवले उपराष्ट्रपति निर्वाचनका कारण आचारसंहिता लागू भइसकेको अवस्थामा निर्वाचनपश्चात् अस्पतालका निर्देशक डा. यादवलाई परिवर्तन मन्त्री साहलाई निर्देशन दिए ।