एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २८ :
धनुषा प्रहरीले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका थुनुवाहरूमध्ये थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हातहतियार तथा खरखजाना मुद्दाका ३६ वर्षीय शंकर सिंह महतो रहेका छन् । गत माघ १६ गते ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका ६ जना थुनुवाहरू मध्ये ४ जना पक्राउ परिसकेका छन् ।
फरार रहेका थप दुईजना मध्ये एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले जानकारी दिए ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त प्रहरी टोलीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ ईनर्वास्थित भन्सार हुँदै भारत तर्फ भाग्ने क्रममा महतोलाई पक्राउ गरेको डीएसपी गौतमले बताए । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।