एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २६ : २००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका रामचन्द्र पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडलले घोषणा गरेको मतपरिणाम अनुसार पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।
पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बने ।
२०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिएपनि जित हासिल गर्न नसकेका पौडेल नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल भए । पौडेल राष्ट्रपतिमा निर्वाचित घोषणा गर्न र प्रमाणपत्र वितरणका लागि आयोजित समारोहमा शीर्ष नेताहरुबीच मञ्चमै अंकमाल गर्दै बधाई साटासाटको दृश्य देखियो । त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा. सिके राउत लगायतका थिए ।
उपराष्ट्रपतिमा जसपालाई सकस
एता उपराष्ट्रपति पाएको भनिएको जसपाले आफना संसदिय दलका नेता राम सहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि सत्तारुढ दल भित्र शंशय देखिएको छ । राष्ट्रपतिको निर्वाचनकै दिन विहिवार जसपाले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको केहि समयमै सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता कांग्रेसको उपसभापती पुर्ण बहादुर खडकाले उपराष्ट्रपतिमा कुनै सहमती नभएको मात्र भनेनन गठबन्धनका घटक नागरिक उन्मुक्ती पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवारको रुपमा अघि सारिसकेको छ ।
यद्यपि उपराष्ट्रपति हुन उम्मेदवारको उमेर ४५ नाघेको हुनुपर्नेमा श्रेष्ठको ४० मात्र रहेको बाधा छ भने जसपाका उम्मेदवार यादव पुरुष भएकाले राष्ट्रपति पुरुष हुँदा उपराष्ट्रपति महिला हुनुपर्ने मांग उठेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त गोविन्द थपलियाले पनि अव उपराष्ट्रपतिमा पुरुष र खशआर्य हुन नहुने बताइसकेपछि जसपा र नागरिक उन्मुक्तीको दुवैजना उम्मेदवारहरु अयोग्यको रुपमा चर्चा हुन थालेको छ । यस्ले उपराष्ट्रपतिमा पनि मधेश केन्द्रित दलहरु बञ्चित हुने स्थिती देखिन्छ ।