एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २३ : महामुर्ख २०७९ सालको उपाधी जनकपुरधामका मेयर मनोज कुमार साहलाई प्रदान गरिएको छ । जनकपुरधामको मिथिला नाट्य कला परिषद मिनापले हरेक वर्ष होलीको अवसरमा आयोजना गर्ने गरेको होली महोत्सव तथा महामुर्ख सम्मेलनको क्रममा यस वर्षको महामुर्खको उपाधी मेयर साहलाई प्रदान गरिएको छ ।
कांग्रेसमा आवद्व उनी मेयरको टिकट पार्टीको भागमा नपरेपछि स्वतन्त्र लडेर जितेको र जनकपुरधाम नगरको फोहर, लामखुट्टे जस्ता समस्या समाधानको जोखिमको बोझ बोकेको भन्दै उनलाई सो सम्मान दिइएको आयोजक मिनापले जनाएको छ ।
उनलाई उल्लु स्वरुपको टोपी र परवलको माला लगाएर सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान मधेश सरकारकी उद्योग, पर्यटन वत तथा वातावरण मन्त्री सुनिता यादवले सम्मान गरेकी छिन् । मिथिलाको संस्कृती, संस्कार र सभ्यताको जोडा नरहेको बताउदै मेयर साहले होलीको शुभकामना व्यतm गरेका छन् ।
साथै समाजका लागि विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरु गरि विभिन्न अन्य कुल १३ जनालाई विभिन्न शिर्षकको मुर्खको उपाधिले सम्मानित गरिएको छ । विभिन्न शिर्षकमा मुर्खको उपाधि पाउनेहरु अन्य १२ विशिष्ठ व्यक्तिहरुमा पत्रकार श्रृषि धमला, पुर्व डिई रत्नेश्वर लाल कर्ण, महोतरी मठिहानीका मेयर हरिप्रसाद मण्डल, नेतृ विभा ठाकुर, वनका कर्मचारी लालबाबु यादव, अधिवक्ता रेखा झा, याज्ञवल्क्य विद्यालयका प्रअ संजय कुमार झा, खेलाडी अरुणलाल, व्यवसायी बलराम साह, पत्रकार विरेन्द्र रमण, कवित्री किरण झा रश्मी र मोनाष्टिक स्कुलका सञ्चालक डा. सोनु साह रहेका छन् ।
उनीहरुलाई क्रमश पटमुर्ख, डपौर शंख, बैशाखानन्दन, गणपसारि, हराशंख, सिलौट शंकर, खपसुरता, बज्रशंख, सोटाचन्थ, टुनमुसरी र बज्रकिट सहितको उपाधिले विभिन्न व्यङ्गात्मक मालाहरु लगाएर सम्मान गरिएको छ । उनीहरुलाई भिन्डी, भान्टा, आलु, खुर्सानी, केसौर, कटहर सहितको माला लगाएर सम्मान गरिएको थियो ।
सो समारोहमा विभिन्न कवि तथा साहित्यकारहरुले कविता, होली तथा जोगिरा सम्बन्धित प्रस्तुतीहरु प्रस्तुत गरेका थिए भने मिनापका कलाकारहरुले जोगिरगान सुनाएका थिए । मुर्खको अन्य मानपदवी पाउने १२ जानलाई जनकपुरधामका पुर्वमेयर बजरंग प्रसाद साह, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, जसपा नेता तथा समाजसेवी बलराम महतो, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी, धनुषाका जनपथ र शसस्त्र प्रहरीका प्रहरी उपरिक्षकद्वय, प्रमोद चौधरी सहितकाले प्रदान गरेका थिए ।