एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २३ : १५ दिने मिथिला माध्यमिकी परिक्रमा टोली सोमवार जनकपुरधाम आइपुगेर मंगलवार अन्तरगृह परिक्रमा भएसंगै मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको छ । यस संगै अव तराई मधेश र मिथिलामा आज र भोली होली मनाइने छ ।
नेपाल–भारतका विभिन्न ठाउँको परिक्रमा गर्दै आएको परिक्रमा टोली आज अन्तरगृह परिक्रमा गरेको हो ।
परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहारका सीमावर्ती क्षेत्रमा अवस्थित धार्मिक स्थलहरूको १ सय ७ किलोमिटर र सीमावर्ती क्षेत्र भारतको २६ किलोमिटर गरी १ सय ३३ किलोमिटर दूरी पैदल यात्रा गर्दै साधुसन्त तथा श्रद्धालुहरू जनकपुरधाम आउने गर्दछन ।
परिक्रमामा सहभागी साधुसन्त तथा भक्तजनहरू जनकपुरधाममा आइबार विश्राम गरी आज विहान नगरको परिक्रमा गरेको छ । जनकपुरधाममा हुने परिक्रमालाई अन्तगृह परिक्रमा भनिन्छ । १५ दिने परिक्रमामा सहभागी हुन नसेकाहरू पनि छोटो दूरीको अन्तरगृह परिक्रमामा सहभागिता जनाउँछन् । यसमा सहभागि हुनेले समेत सोहि बराबरको फल पाउने जनबिश्वास छ ।
प्रारम्भमा धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भगवान श्री सिताराम मिथिला विहारीको डोला निस्किएको थियो । परिक्रमा यात्राका क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।
परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, पर्वत्ता, धनुषाधाम, सतोषर, औरही, करुणा, विषौल र पुन: कल्याणेश्वर पुगेर पुन: जनकपुर फर्किएर फागू पूर्णिमाका दिन नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरी सम्पन्न हुन्छ ।