एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २२ : प्रत्येक वर्ष मनाइने होरी महोत्सव तथा महामुर्ख सम्मेलन जनकपुरधाममा सुरु भएको छ । मिथिला नाटय कला परिषद जनकपुरधामको आयोजनमा प्रत्येक वर्ष झै यस वर्ष पनि जानकी मन्दिर प्राङ्गणमा विभिन्न जिल्लाका हौरैया समुहको सहभागितामा सोमवार होरी महोत्सवको आयोजना गरिएको छ भने मंगलवार महामुर्ख सम्मेलनको आयोजना गरिने छ ।
होली पर्वको पौराणिक गाथाका विषयवस्तु, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) मिथिलाञ्चलमा लोप हुने अवस्थामा रहेको बेलामा त्यसको संरक्षण गर्न जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष होरी महोत्सव र महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ । सोमवार अतिथिहरुले डम्फा बजाएर होरी महोत्सवको समुदघाटन गरिएको छ ।
सोमवारको होरी महोत्सवमा भएको होरैया प्रतिस्पर्धामा सहभागी कुल ८ वटा टिमहरु मध्ये धनुषाको लादोबेलाको बाबा गोविन्द होरैया टिम प्रथम, मंगलपुर दोस्रो र गिद्दा तेस्रो भएका छन् । उनीहरुलाई ट्रफी, डम्फा सहित सम्मान गरिएको छ । त्यसै गरि होरैयामा समहोतरीको विसम्वरपुर र सिंगयाही, सर्लाहीको मिर्जापुर समेत कुल ८ होरैया टिमको सहभागिता रहेको छ । उनीहरुले आ–आफनो क्षेत्रको मौलिक होरैया प्रस्तुत गरेका छन् ।
मंगलवार महामुर्ख सम्मेलनको आयोजना गरि एकजना विशिष्ट व्यक्तित्वलाई यस वर्षको महामुर्खको उपाधिले सम्मानित गरिने आयोजक मिनापले जनाएको छ ।