एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १९ :
नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवले आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन कांग्रेस नेताहरु नै इमान्दार हुनुपर्ने बताएका छन्।
जनकपुरधाममा ८ दलीय सत्ता गठबन्धनको अभिमुखिकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्। पौडेललाई निर्वाचित गराउन नेपाली कांग्रेस आफैँ इमान्दार हुनु आवश्यक रहेको उनको तर्क थियो। उनले राष्ट्रपति उम्मेदवार पौडेललाई गठबन्धनले जिताउन कांग्रेसका नेताहरु नै इमन्दार हुनुपर्ने बताए। उनले कांग्रेसका नेताहरुमा नै आफ्नो शंका रहेको बताए।
‘म कांग्रेसी साथीहरुलाई सोध्न चाहन्छु तपाईहरुले मत दिनु हुन्छ कि नाइँ,’ उनले भने, ‘कांग्रेससँग सबैभन्दा धेरै मत रहेकाले कांग्रेसी साथीहरु इमान्दार हुनु आवश्यक छ, मलाई अरु दलका साथीमा शंका छैन, कांग्रेसी साथीहरुमाथि शंका छ, तपाईंहरु पहिला ईमान्दार हुनुस्।’ अभिमुखिकरण कार्यक्रममा ८ दलीय गठबन्धनमा आवद्ध ८ वटै दलका नेताहरुको सहभागिता थियो।