एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १६ :
बेल्ही एकिकृत ग्रामिण विकास परियोजनाद्वारा हँसपुर नगरपालिकामा संचालित खानेपानी आयोजनाको नर्वे राजदूतावासका प्रतिनिधिहरुले अवलोकन गरेका छन् ।
साइट नेपालको पहलमा हँसपुर नगरपालिका बेल्हीस्थित विगत एक वर्षदेखि परियोजनाद्वारा संचालनमा रहेको खानेपानी आयोजनाको नेपालका लागि नर्वे राजदूतावासका प्रतिनिधिहरु, युएनडिपीका प्रतिनिधिहरु, एडिबीका प्रतिनिधिहरुले अवलोकन गरेका हुन् ।
गाउँको चापाकलमा पानी आउन छोडेपछि साइट नेपालका अमित साहको अग्रसरतामा बेल्ही एकिकृत ग्रामिण विकास परियोजना अन्तर्गत सो खानेपानी आयोजनाको विस्तार गरिएको थियो । अहिले सो खानेपानी आयोजनाबाट त्यहाँका २ सय ६० घरधुरी लाभान्वित भएका छन् ।
खानेपानी आयोजनाको अवलोकनपछि नर्वे राजदूतावासबाट आएका प्रतिनिधि यान इरिकले आफू यो आयोजना देखेर अत्यन्त प्रभावित भएको बताए । उनले यो परियोजनालाई दिर्घकालिन बनाउनका आफूहरु सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै युएनडिपीका विजय सिंहले आफूहरुको समेत यो परियोजनामा भूमिका रहेको र यसबाट यहाँका ग्रामिण लाभान्वित भएको देखेर खुशी लागेको प्रतिक्रिया दिए । यो मोडेलको परियोजना यहाँ सफल भएको छ यसलाई अझै विकास गर्नका लागि युएनडीपी तयार रहेको बताए ।